विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- दृढताका साथ काम गर्नुस्
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् ।
विमानस्थल अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।
‘अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ-नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ,’ उनले भने ।
मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के-कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिक रुपमा के-कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए ।
‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएको खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।’