बजेट कार्यान्वयबारे मुख्यसचिव सहित सचिवहरुसँग अर्थमन्त्रीको छलफल
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरिरहेका छन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा अर्थमन्त्री डा महतले बुधबार छलफल गरिरहेका हुन् ।
बिहान ९ बजेदेखि सुरू भएको छलफल २ बजेसम्म चल्ने कार्यतालिका छ । बजेट कार्यान्वयन कार्ययोजना बनाउने र अन्तर मन्त्रालय समन्वय कसरी बढाउने भन्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ । १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्व, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब स्रोत जुटाउने लक्ष्य बजेटमा लिइएको छ ।
गत जेठ १५ गते सार्वजनिक गरेको बजेट साउन १ गतेदेखि कार्यन्वनयमा गएको छ ।