केयर नेपालले रद्द गर्‍यो एनआइसी एशिया बैंकसहित विशाल ग्रुपको लगानीका कम्पनीको रेटिङ



काठमाडौं । केयर नेपाल रेटिङ एजेन्सीले आफ्नो प्रत्यक्ष स्वार्थ बाझिने (कन्फ्क्टि अफ इन्ट्रेष्ट) भएका विभिन्न कम्पनीहरुको गरिसकिएको रेटिङ खारेजी (रद्द) गरेको छ ।

स्वार्थ बाझिने गरी गरिएका रेटिङका विषयमा नियामक नेपाल धितोपत्र बोर्डले छानबिन गरिरहेका बेला केयर रेटिङ नेपालले विशाल ग्रुप सम्बद्ध कम्पनीको रेटिङ धमाधम खारेजी गरेको हो ।

विशाल ग्रुप सम्बद्ध कम्पनीको विषयमा यसअघि गरिएका क्रेडिट रेटिङ सीधै कानूनविपरीत छन् ।

केयर नेपालले विशाल ग्रुप सम्बद्ध एनआइसी एशिया बैंक, युनाइटेड डिस्ट्रिब्युटर्स, मैनावत्ती स्टील, कमला रोलिङ मिल्स, भीजी अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ कन्सर्न, यती ब्रुअरी, एड्भान्स अटोमोबाइल्सको क्रेडिट रेटिङ फिर्ता लिइसकिएको छ भने लाइफ केयर डिस्ट्रिब्युसन, ग्रीन भेन्चर्स तथा पारामाउन्ट मोटर्सको रेटिङ फिर्ता लिने प्रक्रिया शुरू गरिएको कम्पनीले जनाएको छ ।

तर, घोराही सिमेन्ट इष्डष्ट्रीको रेटिङ भने खारेजी गरेको छैन । कम्पनीमा विशाल ग्रुपकै व्यक्तिको लगानी छ ।

केयरमा विशाल ग्रुपको १० प्रतिशत र विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवालका छोरा अर्पित अग्रवालको ९ प्रतिशत सेयरस्वामित्व छ। योबाहेक विशाल ग्रुप र यसका सदस्य सम्बद्ध अन्य कम्पनीको पनि सेयर स्वामित्व छ ।

क्रेडिट रेटिङ नियमावली २०६८ क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गराउन नहुने व्यवस्था छ ।

उक्त व्यवस्थाविपरित विशाल ग्रुपको लगानीका दर्जन बढी कम्पनीहरुको रेटिङ केयर नेपालले गरेको थियो । यस विषयमा २०७९ साल साउन ३० गते क्लिकमान्डुले ‘नियम विपरीत आफ्ना कम्पनीको रेटिङ आफैं गर्दै विशाल ग्रुप, विकृति बढ्यो’ शिर्षकमा समाचार सम्प्रेशण गरेको थियो ।

क्लिकमान्डुले लगातार फलोअप गरेपछि बोर्डले छानबिन समिति नै गठन गरेर अध्ययन कार्य अघि बढाएको थियो । र, सोही अध्ययनको निष्कर्षपछि बोर्डले नियमविपरीत रेटिङ गरेको भन्दै २०७९ पुस चौथो साता केयर नेपाललाई किन कारबाही नगर्ने ?भन्दै स्पष्टीकरण सोधेको थियो ।

बोर्डले केयर नेपाललाई रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेको थियो । बोर्डले पटक–पटक तोकता गरेपछि कम्पनीले जवाफ पठाएको थियो ।

कम्पनीले बोर्डमा पठाएको जवाफ चित्तबुझ्दो नदेखिए पनि कारबाही गर्न भने बोर्डले आनाकानी गर्दै आएको छ। तर, केयर नेपालले कानूनविपरित गरिएका विशाल ग्रुप सम्बध कम्पनीको रेटिङ खारेज गरेर कारबाहीबाट उम्किने प्रयास गरेको आशंका गरिएको छ । केयर नेपाल यतिखेर धितोपत्र बोर्डको नेतृत्वलाई प्रभावमा पारेर रेटिङ खारेज गरिसकेको भन्दै कारबाहीबाट उम्किने दाउमा देखिन्छ ।

तर, कानूनमा रेटिङ खारेजी गर्दैमा केयर नेपाल कारबाहीमुक्त हुने व्यवस्ता कहीँ कतै देखिँदैन । नियमावलीको नियम २३ को उपनियम (२) ले रेटिङ गरिएको धितोपत्रको निष्कासनकर्ता कम्पनी खारेज भएकोमा बाहेक अन्य अवस्थामा क्रेडिट रेटिङ संस्थाले रेटिङ कायम रहने गरी निश्चित गरिएको अवधि बाँकी रहेसम्म रेटिङ फिर्ता लिन पाउनेछैन भन्ने व्यवस्था गरेको छ। कम्पनीको आग्रहअनुसार रेटिङ फिर्ता लिने व्यवस्था नियमावलीमा छैन। तर, केयर रेटिङ्सले भने सम्बन्धित कम्पनीको आग्रहअनुसार रेटिङ फिर्ता गरिएको जनाएको छ।

होला त लाइसेन्स खारेज ?

नियमावलीमा क्रेडिट रेटिङ संस्थाले नियमावलीमा उल्लिखित प्रावधान उल्लंघन गरेमा त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज गर्न सक्ने व्यवस्था छ।

नियमावलीको नियम १२ मा भनिएको छ, ‘ऐन तथा ऐन अन्तर्गत बनेका नियमावली वा बोर्डले समय समयमा जारी गरेका निर्देशनहरूको बारम्बार उल्लंघन गरेको भन्ने अनुसन्धानबाट पुष्टि भएमा वा क्रेडिट रेटिङ संस्थाको कार्यबाट लगानीकर्ताको हित विपरीतका कार्य भएको देखिएमा बोर्डले लिखित स्पष्टीकरण माग गरी त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने कार्य प्रारम्भ गर्नेछ।’

तर, धितोपत्र बोर्डको नेतृत्व केयर नेपाललाई कारबाही गर्न तयार देखिएको छैन । पुस चौथो साता नै बोर्डले स्पष्टीकरण सोधेर रेटिङले जवाफ पठाइसकेको भए पनि र बोर्डले कम्पनीलाई कारबाही गर्ने यथेष्ट प्रमाण पाएको बताइएको छ । पाँच महिनासम्म पनि बोर्डले उक्त जवाफ सञ्चालक समितिमा पेस गरेको छैन ।

विशाल ग्रुपको केयर रेटिङलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो घर्रामा फाइल थन्क्याएर राखेका छन् ।


क्लिकमान्डु