गत आर्थिक वर्षको अन्तिम दिनमा मात्रै २४ अर्ब कर्जा लगानी
काठमाडौं । गत आर्थिक वर्षको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाले २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत असार ३० गतेसम्म बैंक वित्तीय संस्थाले ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
आर्थिक वर्षको अन्तिम दिन बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले २४ अर्ब रुपैयाँ कर्जा लगानी गरे पनि गत वर्षको अन्त्यमा बैंक वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।
गत कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालू पुँजी कर्जा सम्बन्धी नीतिले त्रैमाशको अन्तिम साता र आर्थिक वर्षको अन्तिम महिना चालू पुँजी प्रकृतिको कर्जा स्वीकृत गर्न रोक लगाएको छ । जसले गर्दा बैंकहरुले जेठ मसान्तमै स्वीकृत गरेको कर्जा आर्थिक वर्षको अन्तिम दिन ब्याज र कर तिर्न निकासा गरेपछि आर्थिक वर्षको अन्तिम दिनको कर्जा लगानी ह्वात्तै बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
गत आर्थिक वर्षको अन्तिम दिन बाणिज्य बैंकहरुले मात्रै २० अर्ब कर्जा लगानी गरेका छन् ।
असार ३० गतेसम्म ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बाणिज्य बैंकले असार ३१ गते २० अर्ब कर्जा लगानीगरेपछि गत आर्थिक वर्षको कुल कर्जा लगानी ४३ खर्ब १४ अर्ब कर्जा लगानी थियो ।
बैंक वित्तीय संस्थाले आर्थिक वर्षको अन्तिम दिनमा गरेको कर्जा लगानी साँवा र ब्याज तिर्न प्रयोग भएकाले गत आर्थिक वर्षको अन्त्यमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४ प्रतिशत भन्दा मुनि रहने बैंकरहरु बताउँछन् ।
विगतमा सिधैं ऋण लिएको संस्थालाई साँवा र ब्याज तिर्न कर्जा लगानी गरेको बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा नयाँ फर्मलाई कर्जा लगानी गरेको बैंकरहरुले जानकारी दिएका छन् ।
‘बैंकसँग तरलता सहज भएपछि खराब कर्जा घटाउन विभिन्न बाटोबाट कर्जा दिइएको छ,’ एक बैंकका अधिकारीले भने,‘जसले गर्दा असार महिनामा गत वर्षको सबै भन्दा बढी नयाँ कर्जा लगानी भएको हो ।’
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो वर्षको असार मसान्तमा ४७ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी थियो ।
एक वर्षको अवधीमा बैंक वित्तीय संस्थाको कर्जा लगानी ३.६ प्रतिशतले मात्रै बढ्दा निक्षेप भने ११.८ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५१ खर्ब ५८ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप गत आर्थिक वर्षको अन्त्यमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।