भारतीय उद्योगीलाई अर्थमन्त्री महतले भने- नेपालमा अपार सम्भावना छ, लगानी गर्नुस्
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।
भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
भर्खर मात्र भारतसँग १० हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए ।
महतले नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेकाले नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गरे ।
नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भएर लगानी गर्न उनले अनुरोध गरे ।
नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्न सक्ने, भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको बताए ।
गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसक लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे ।
कार्यक्रममा अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले लगानी सम्भावनाका विषयमा प्रस्तुतीकरण दिएका थिए ।