ठूला करदाता कार्यालयले ५५० संस्थाबाट उठायो १ खर्ब ८५ अर्ब राजस्व, गत वर्षभन्दा २ अर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्षमा ठूला करदाता कार्यालयले १ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने ५५० संस्थाले १ खर्ब ८५ अर्ब रुपैयाँ कर तिरेका हुन् ।

ठूला करदाता कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने करदातालाई सेवा दिने गरेको छ । चालू आर्थिक वर्षमा कार्यालयलाई २ खर्ब ६१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको थियो ।

गत वर्षभन्दा २ अर्ब बढी राजस्व संकलन गरे पनि कार्यालयले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । चालु आर्थिक वर्षमा सरकारले गत वर्षभन्दा १० प्रतिशत कम राजस्व संकलन गर्दा ठूला करदाता कार्यालयले गत वर्षभन्दा १.०९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा कार्यालयले २ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । बैंकिङ क्षेत्रबाट सोचेअनुसार रकम प्राप्त नभएकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको ठूला करदाता कार्यालयका प्रमुख राजेश्वर ज्ञवाली बताउँछन् ।

‘बैंकिङ क्षेत्रको नाफामा गिरावट नआए पनि सोचेअनुसार रकम संकलन भएन । मदिरा र अटोमोबाइलको पनि राजस्व घटेको छ,’ उनले भने, ‘जसले गर्दा समग्र राजस्व प्रभावित भएको हो ।’


क्लिकमान्डु