रेडियो नेपालमा ३८ कर्मचारीका लागि रोजगारीको अवसर
काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले ३८ कर्मचारी माग गरेको छ । रेडियो नेपालले आज सूचना जारी गर्दै विभिन्न पदमा ३८ कर्मचारी माग गरेको हो ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नागरिकले आवेदन दिन सक्ने रेडियो नेपालले जनाएको छ ।
सूचनाअनुसार रेडियो नेपालले उपनिर्देशक (इन्जिनियरिङ), मुख्य प्रशासकीय अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत, इन्जिनियर, वरिष्ठ कार्यक्रम अधिकृत, प्रकासकीय अधिकृत, लेखा अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली) संवाददाता, सहसमाचार वाचक (लिम्बू), सहसमाचार वाचक (मगर), सहायक लेखापाल र कार्यक्रम सहायक एक-एक जना कर्मचारी माग गरिएको छ ।
त्यसैगरी, रेडियो नेपालले प्रधान सहायक प्रशासन र लेखापाल प्रशासन/आर्थिक प्रशासन, सहसमाचार वाचक (भोजपुरी) २-२ जना, वरिष्ठ प्राविधिक सहायक (इन्जिनियरिङ/प्राविधिक) मा ७ जना र प्राविधिक सहायकमा ८ जना कर्मचारी माग गरेको छ ।
आवेदन फाराम अनलाइनमार्फत भर्न सकिनेछ । आयोगले ९ तहका लागि १२ सय रुपैयाँ, ८ तहका लागि ११ सय रुपैयाँ, ७ तहका लागि १ हजार रुपैयाँ, ६ तहका लागि ९ सय रुपैयाँ, ५ तहका लागि ५ सय रुपैयाँ र ४ तहका लागि ४ सय रुपैयाँ दस्तुर तोकेको छ ।
साथै, एक उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सहभागी हुने भएमा प्रत्येक समूहका लागि थप २ सय दस्तुर लाग्नेछ । आवेदन साउन १८ सम्म दिन सकिनेछ । तर, दोब्बर दस्तुर तिरेर साउन २५ सम्म आवेदन दिन सकिने लोकसेवा आयोगले जनाएको छ ।