लक्ष्मी बैंकको ३ अर्ब ऋण अर्कोमा सारेर ‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्ने मोतिलाल दुगडको तयारी



काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी र सनराइज बैंक गाभिएर बन्ने ‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्न दौडधूप तीब्र बनाएका छन् ।

दुगड नयाँ बैंकको सञ्चालक बन्न अयोग्य भएपछि बैंकले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाउन समेत ढिला भएको थियो । राष्ट्र बैंकले १८ वटा शर्त राख्दै असार २२ गते दिएको अन्तिम स्वीकृतिपत्रको शर्त नं. १३ मा एकीकृत कारोबार गरेकै दिनदेखि दुगड लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्न नपाउने उल्लेख छ ।

‘गाभ्ने/गाभिने कार्यपश्चात् बन्ने संस्थामा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ को दफा १८ को उपदफा (१) बमोजिम अयोग्यता नभएको व्यक्ति मात्र सञ्चालक समितिमा नियुक्ति हुनु पर्नेछ,’ मर्जरको अन्तिम स्वीकृति दिँदा राष्ट्र बैंकले बुँदा नं. १३ मा उक्त शर्त राखेको छ ।

लक्ष्मी बैंकबाट दुगडले ३ अर्ब रुपैयाँको हाराहारीमा ऋण उपयोग गरेका छन् । जसकारण, उक्त ऋण भुक्तानी नगरी उनी लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्न स्वतः अयोग्य ठहरिने छन् ।

गत असार ३ गते सनराइज बैंकको विशेष साधारणसभाले गाभिएर बन्ने लक्ष्मी सनराइज बैंकमा सनराइज बैंकका तर्फबाट मोतिलाल दुगड, सञ्चालकद्धय बच्चराज टेडार र मालचन्द्र दुगडलाई सञ्चालक पठाउने प्रस्ताव पारित गरेको थियो ।

साधारणसभाले नै मोतिलाललाई सञ्चालक बनाउने निर्णय पारित गरेकाले उनलाई राष्ट्र बैंकले बाहेक कसैले पनि हटाउन सक्दैन। राष्ट्र बैंकले पनि फलानो सञ्चालक बस्न मिल्छ र फलानो मिल्दैन भनेर भन्न मिल्दैन । राष्ट्र बैंकले कानूनअनुसार नभएको अवस्थामा मात्रै डन्डा चलाउन मिल्छ । तसर्थ, यही असार २९ गते अर्थात् लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार नभएसम्मका लागि केही पनि भन्न मिल्दैन ।

दुगड लक्ष्मी बैंकमा भएको आफ्नो ऋण सारेर भए पनि लक्ष्मी सनराइज बैंकको सञ्चालक बनेरै छाड्ने दौडमा लागेका छन् । त्यसका लागि उनले दुई बैंकमा लक्ष्मीमा भएको ऋण सार्न कुराकानी गरिरहेका छन् ।

‘मोतिलाल दुगडीजीले लक्ष्मी बैंकमा भएको उहाँको कर्जा सार्छु भन्दै हाम्रो बैंकमा प्रस्ताव लिएर आउनु भएको छ,’ एक वाणिज्य बैंकका डेपुटी सीइओले भने, ‘हामी उहाँ (दुगड)को फाइलको अध्ययन गरिरहेका छौं ।’

दुगडको प्रस्ताव दुई दिनभित्रै टुंगो लाग्ने उनले बताए । ‘लक्ष्मी बैंकमा ऋण भएका कारण गाभिएपछि उहाँ सञ्चालक बन्न नपाउने हुनुभयो, त्यसैले हतार हतार ऋण सार्न खोजिरहनु भएको छ,’ ती डेपुटी सीइओले भने, ‘उहाँको सावाँब्याज भुक्तानीको इतिहास र बिजनेशको संभावना हेरेर हामी छिट्टै निर्णय दिन्छौं ।’

दुगडले असार २८ गतेसम्ममा लक्ष्मीमा भएको ऋण अर्को बैंकमा सारेर लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्न लागि परेको सनराइज बैंकका एक सञ्चालकले बताए ।

‘सुन्दैछु २ दिनभित्रै उहाँले अर्को बैंकमा ऋण सारेर लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्दै हुनुहुन्छ,’ ती सञ्चालकले भने, ‘उहाँहरु यस्तो गर्न सक्ने मान्छे हो भन्ने कुरा इतिहास हेरे पुगिहाल्छ ।’

०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच १ बराबर १ को बराबरी हैसियतको सेयर आदानप्रदान रेसियोमा आपसमा गाभिने सैद्दान्तिक समझदारी गरेका थिए । गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका थिए। असार ३ गते दुबै बैंकको साधारणसभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ बराबर १ को स्वाप रेसियो अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।


क्लिकमान्डु