यस्तो छ १८ वटा शर्तसहित ‘लक्ष्मी सनराईज बैंक’लाई राष्ट्र बैंकले दिएको मर्जरको स्वीकृति, मोतिलालको पद गयो



काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई आपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंकको’ तर्फबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ ।

शुक्रबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिले लक्ष्मी सनराइज बैंकलाई अन्तिम कारोबारको स्वीकृति दिएको हो ।

विवादास्पद छविका व्यवसायीसमेत रहेका सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडका कारण लक्ष्मी सनराइज बैंकले अन्तिम स्वीकृति पाउन ढिला भएको थियो ।

नयाँ बन्ने बैंकमा राष्ट्र बैंकले मोतिलाल दुगड सञ्चालक बस्न नपाउने शर्तसहित अन्तिम स्वीकृतिका लागि शुक्रबार नै पत्र दिएको छ । लक्ष्मी र सनराइज बैंक दुबैले उक्त पत्र प्राप्त गरिसकेका छन् । राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको हस्ताक्षर भएको अन्तिम स्वीकृतिपत्रमा १८ वटा शर्त राखिएको छ । शर्त नम्बर १३ ले सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड गाभिएर बन्ने लक्ष्मी सनराइज बैंकमा सञ्चालक बन्न नपाउने भएका छन् । शर्त नम्बर १३ मा भनिएको छ, ‘गाभ्ने/गाभिने कार्य पश्चात् बन्ने संस्थामा “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” को दफा १८ को उपदफा (१) बमोजिम अयोग्यता नभएको व्यक्ति मात्र सञ्चालक समितिमा नियुक्ति हुनु पर्नेछ।

राष्ट्र बैंकको यो शर्तले मोतिलालको सपना चकनाचुर भएको हो । उनी नयाँ बन्ने बैंकको अध्यक्ष बन्ने दाउमा थिए ।

राष्ट्र बैंकले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)-२०७३ को दफा १८ को उपदफा १ मा बैंक सञ्चालकको योग्यता तोकिएको छ । जसको ६ नम्बर बुँदामा भनिएको छ,‘सम्बन्धित बैंक वा वित्तीय संस्थाको ऋणी वा बहालवाला लेखापरीक्षक वा सल्लाहकार वा बैंक वा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति, फर्म र कम्पनी’ बैंकका सञ्चालक बन्न अयोग्य ठहरिने छ । मोतिलाल दुगडले लक्ष्मी बैंकबाट ३ अर्ब रुपैयाँको हाराहारीमा कर्जा लिएका छन् । जसकारण बाफियाको यो व्यवस्थाले सनराइज र लक्ष्मी मर्ज भएकै दिनदेखि उनी नयाँ संस्थाको सञ्चालक बन्न पाउने छैनन् । आइतबार १० बजे नै राष्ट्र बैंकबाट इजाजत पाएको ‘लक्ष्मी सनराइज बैंक’ले कम्पनी रजिष्ट्रारमा नयाँ कम्पनी दर्ता गर्नेछ, जसमा सञ्चालकमा मोतिलालको नाम हुनेछैन ।

त्यसैगरी, राष्ट्र बैंकले गाभिएर हुने संस्थामा कर्मचारीहरुको पदमिलान गर्दा निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता, सुविधा तथा सेवाका शर्तहरु नघट्ने गरी कर्मचारी सेवा विनियमावली लगायत अन्य विषयहरुमा आवश्यक संशोधन गरी स्वीकृतिका लागि यस बैंकमा पेश गर्नु पर्ने लगायतका शर्तहरु राखेको छ ।

०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच १ बराबर १ को बराबरी हैसियतको सेयर आदानप्रदान रेसियोमा आपसमा गाभिने सैद्दान्तिक समझदारी भएको थियो । गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका थिए । असार ३ गते दुबै बैंकको साधारणसभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ बराबर १ को स्वाप रेसियो अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

यस्ता छन् अन्य शर्तहरु

१, बैंक तथा वित्तीय संस्था एक आपसमा “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३”, गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९)”, प्रचलित कानून तथा यस बैंकबाट जारी एकीकृत निर्देशन लगायत अन्य नीति निर्देशनहरूको पूर्ण पालना गरी वित्तीय कारोबार सञ्चालन गर्नु पर्नेछ ।
गाभ्ने/गाभिने दुबै संस्थाले आ-आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडको कायम हुने शेयर स्वाप अनुपात १:१ अनुसार शेयर पुँजी मिलान गर्नु पर्नेछ ।

२, धितोपत्र सम्बन्धी ऐन, नियमावली र प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नु पर्नेछ । शेयर स्वाप अनुपातको आधारमा तय हुने शेयरलाई साविकका दुवै संस्थाका सम्पूर्ण शेयरधनीहरूले गाभिएर कायम हुने संस्था लक्ष्मी सन्राइज बैंक लिमिटेडको नामबाट कारोबार गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

३, गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा राख्नु पर्नेछ ।

४, गाभ्ने/गाभिने संस्थाको कुनै शाखा कार्यालय अर्कोमा गाभ्नु परेमा वा अन्यत्र स्थानान्तरण गर्नु परेमा सोको आवश्यकता तथा औचित्य खुलाई स्वीकृतिको लागि यस बैंकमा पेश गर्नु पर्नेछ ।

५, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी स्वीकृति प्राप्त भएपछि दुबै संस्थाले एकीकृत कारोबार थालनी गर्ने मिति खुलेको व्यहोराको सूचना सर्वसाधारणको जानकारीका लागि निर्णय प्राप्त गरेको मितिले १५ (पन्ध्र) दिन भित्र कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा २ (दुई) पटक प्रकाशन गर्नु पर्नेछ ।

६, यस बैंकबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको १ (एक) महिनाभित्र दुबै संस्था एक आपसमा गाभिएर एकीकृत रुपमा वित्तीय कारोबार शुरु गरिसक्नु पर्नेछ । सो अवधिभित्र गाभ्ने/गाभिने दुबै संस्थाको तथ्याङ्कलाई एकीकृत गरी गाभिएको दिनदेखि एउटै सफ्ट्वेयरबाट वित्तीय कारोबार गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै, गाभिए पश्चात् एकीकृत वित्तीय विवरणहरू तयार गरी (गाभिएको दिनको समेत) बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागका साथै कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य सम्बन्धित निकायहरूलाई जानकारी दिनु पर्नेछ ।

७, गाभिने संस्थाको नाममा रहेको वित्तीय कारोबार गर्ने सम्बन्धी इजाजतपत्रलाई रद्द गरी गाभ्ने संस्थाको इजाजतपत्रमा आवश्यक संशोधन गर्नुपर्ने भएकोले एकीकृत कारोबार गर्नु पूर्व दुबै संस्थाको सक्कल इजाजतपत्रहरु यस बैंक समक्ष पेश गर्नु पर्नेछ ।

८, गाभ्ने/गाभिने दुबै संस्थाहरुको अन्तिम दिनसम्म कायम रहेको लेखामा उल्लेख भएको मूल्यमा सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु समायोजन गरी गाभिएर कायम हुने संस्थाको हिसाबमा लेखांकन गर्नु पर्नेछ ।

९, यसपछि गाभ्ने गाभिने दुबै संस्थाहरुबाट भए गरेका काम कारवाहीहरु गाभिएर कायम हुने संस्थाबाट भए गरेको मानिनेछ । साविकका दुवै संस्थाले गाभिनु अघि गरेका करारीय दायित्वको कार्यान्वयन समेत गाभिएपछिको संस्थामा सर्नेछ ।

(१०) गाभ्ने/गाभिने कार्य पश्चात् शाखा कार्यालयहरुको कोडिङ्ग गर्ने सम्बन्धमा यस बैंकको सूचना प्रविधि विभागसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

११, गाभ्ने गाभिने कार्य सम्पन्न गरेको मितिले एक वर्षसम्म गाभ्ने संस्थाको साइनबोर्ड तथा लेटरप्याडको तल्लो भागमा “लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेड एक आपसमा गाभिएको” भन्ने व्यहोरा उल्लेख गर्नु पर्नेछ । साथै, यसभन्दा अगाडि एक वर्षभित्र कुनै संस्थासंग मर्जर वा कुनै संस्थालाई प्राप्ति गरेको अवस्थामा उक्त संस्थाहरूको नाम समेत समावेश गर्नु पर्नेछ ।

(१२) गाभिए पछिको पहिलो वार्षिक साधारण सभाबाट बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी निर्वाचनको माध्यमबाट सञ्चालकहरु नियुक्त हुने व्यवस्था गर्नु पर्नेछ ।

(१३) गाभ्ने/गाभिने कार्य पश्चात् बन्ने संस्थामा “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” को दफा १८ को उपदफा (१) बमोजिम अयोग्यता नभएको व्यक्ति मात्र सञ्चालक समितिमा नियुक्ति हुनु पर्नेछ ।

(१४) गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने संस्थामा पदमिलान गर्दा निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता, सुविधा तथा सेवाका शर्तहरु नघट्ने गरी कर्मचारी सेवा विनियमावली लगायत अन्य विषयहरुमा आवश्यक संशोधन गरी स्वीकृतिका लागि यस बैंकमा पेश गर्नु पर्नेछ ।

(१५) गाभ्ने/गाभिने क्रममा दुवै संस्थाबीच निर्धारित शेयर स्वाप अनुपात अनुसार पुँजी मिलान गर्दा आएको बार्गेन पर्चेज गेनलाई गाभ्ने संस्थाले विद्यमान लेखामानअनुसार सम्बन्धित शीर्षकमा आम्दानी जनाई नियमानुसार लाग्ने कर कट्टी गरी पूँजीगत जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।

 (१६) गाभिएपछिको संस्थामा लागु हुने कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली तथा कर्जा अपलेखन विनियमावली यस बैंकको स्वीकृतिका लागि पेश गर्नु पर्नेछ।

(१७) गाभ्ने/गाभिने दुबै संस्थालाई यस बैंकका सम्बन्धित सुपरिवेक्षण विभागबाट दिइएका निर्देशनहरुको सुधार तथा कार्यान्वयन गाभिएर कायम हुने संस्थाबाट तोकिएकै समयभित्र गर्नु पर्नेछ ।

(१८) गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी बाँकी काम कारवाहीहरु “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौ संशोधन, २०७९)” बमोजिम गर्नु पर्नेछ ।


सोभित थपलिया