कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालमा हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भएको हो ।

गत वर्षमा १० खर्ब रेमिट्यान्स आप्रवाह भएको थियो । तर, उक्त रेकर्ड ब्रेक गर्दै चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब १२ करोड रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंक जनाएको छ ।

राष्ट्र बैंककाअनुसार विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २,६०,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

विदेशी मुद्राको सञ्चिति ११ अर्ब ३० करोड डलर, चालु खाताको घाटा बढ्यो

जेठ मसान्तसम्म विदेशी विनियम सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ ।

२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति २१ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
गत वैशाखमा ११ अर्ब २० करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ११ अर्ब ३० करोड डलर पुगेको छ । गत चैत मसान्तमा १० अर्ब ९४ करोड डलर थियो ।

यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढीरहेको छ ।

चालू आर्थिक वर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौमा घटेर ९ अर्ब ३४ करोड डलर पुगेको थियो ।

असोजमा ९ अर्ब ४७ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढीरहेको छ ।

चालू अर्थिक वर्षको ११ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १७ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति ११ महिनाको अवधीमा १८.५ प्रतिशतले बढेको हो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ । पछिल्लो समय आयात बढ्न थालेकाले विदेशी मुद्राले आयात धान्न पुग्ने महिनासमेत घटेको छ । वैशाख महिनाको सञ्चितिले ९.७ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको थियो ।

नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ भने रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र आयातमा भएको गिरावटले चालू खाताको घाटा गिरावट भएको छ ।

गत बैशाखमा २ खर्ब १४ अर्ब बचतमा रहेको शोधानान्तरस्थित जेठ महिनामा २ खर्ब २८ अर्बले बचतमा छ । शोधानान्तरस्थिति वचतमा गए पनि पछिल्लो समय आयात बढेसँगै चालु खाताको घाटा बढ्न थालेको छ ।

बैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँ रहेको चालु खाता घाटा ६९ अर्ब ४० करोड पुगेको छ ।

शोधनान्तर स्थिति सवा २ खर्बले बचत

जेठ मसान्तसम्म चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाताको जेठ मसान्तसम्म ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

जेठ मसान्तसम्म पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रहेको थियो ।

जेठ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर अहिले १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।

जेठमा महँगी ६.८३ प्रतिशत, तेल र घ्यूमा बढी

चालु आर्थिक वर्षको जेठमा नेपालको उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष महँगी घटेको हो । समग्रमा भने चालु आर्थिक वर्षमा महँगी ७.७७ प्रतिशत छ ।

जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य ७.७६ प्रतिशत रहेको छ।

जेठ मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ ।

त्यस्चै, काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः .३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

विदेशमा जाने विद्यार्थीले लगे ७५ अर्ब

नेपालबाट वैदेशिक अध्ययनमा जानेमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।


क्लिकमान्डु