विदेशी मुद्राको सञ्चिति ११ अर्ब ३० करोड डलर, चालु खाताको घाटा बढ्यो




काठमाडौं । जेठ मसान्तसम्म विदेशी विनियम सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ ।

२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति २१ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
गत वैशाखमा ११ अर्ब २० करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ११ अर्ब ३० करोड डलर पुगेको छ । गत चैत मसान्तमा १० अर्ब ९४ करोड डलर थियो ।

यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढीरहेको छ ।

चालू आर्थिक वर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौमा घटेर ९ अर्ब ३४ करोड डलर पुगेको थियो ।

असोजमा ९ अर्ब ४७ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढीरहेको छ ।

चालू अर्थिक वर्षको ११ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १७ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति ११ महिनाको अवधीमा १८.५ प्रतिशतले बढेको हो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ । पछिल्लो समय आयात बढ्न थालेकाले विदेशी मुद्राले आयात धान्न पुग्ने महिनासमेत घटेको छ । वैशाख महिनाको सञ्चितिले ९.७ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको थियो ।

नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ भने रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र आयातमा भएको गिरावटले चालू खाताको घाटा गिरावट भएको छ ।

गत बैशाखमा २ खर्ब १४ अर्ब बचतमा रहेको शोधानान्तरस्थित जेठ महिनामा २ खर्ब २८ अर्बले बचतमा छ । शोधानान्तरस्थिति वचतमा गए पनि पछिल्लो समय आयात बढेसँगै चालु खाताको घाटा बढ्न थालेको छ ।

बैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँ रहेको चालु खाता घाटा ६९ अर्ब ४० करोड पुगेको छ ।


क्लिकमान्डु