साउनदेखि आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको विवरण अनिवार्य खुलाउनुपर्ने



काठमाडौं । सरकारले साउन १ गतेदेखि आयातित वस्तुमा आयातकर्ता र वितरकको विवरण अनुवार्य खुलाउनुपर्ने व्यवस्था गरेको छ । भन्सार विभागले सूचना प्रकाशित गर्दै विभिन्न प्रकारका वस्तु आयात गर्दा आयाताकर्ता र बजार वितरकको पूरा विवरण खुलाउनुपर्ने जनाएको छ ।

‘आर्थिक ऐन, २०५० को भन्सार सम्बन्धी अनुसूचि १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुसार संवत् २०८० साउन १ गते पछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङ्गमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनुपर्नेछ,’ जारी सूचनामा उल्लेख छ ।

विभागअनुसार पैठारी भएको मालवस्तुको लेवलमा पैठारीकर्ता र बजार वितरकको निम्नानुसारको विवरण उल्लेख हुनुपर्ने, पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना/वेबसाइट, एक्जिम कोड र मालवस्तु पैठारी भएको अवस्थामा वा बजारमा विक्री वितरणका लागि पठाउनु अघि लेवल लगाउनपर्ने जनाएको छ ।

लेवल उद्योगको कच्चा पदार्थको रुपमा पैठारी हुने मालवस्तु औद्योगिक मेशिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने संरचनाहरु जस्ता मालवस्तुबाहेक उपभोक्तालाई प्रत्यक्ष रुपमा बिक्री वितरण हुने अन्य सबै प्रकारका मालवस्तुमा लगाउनुपर्ने र लेवल पैठारी भएका मालवस्तुको प्रत्येक ईकाइमा र मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक ईकाइमा लेबल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ्ग गर्दा हुने सानो इकाईमा लगाउनु पर्ने जनाएको छ ।

त्यस्तै, एउटै पैठारीकर्ताको धेरै बजार वितरक हुन सक्ने हुँदा बजार वितरकको लेवल सम्बन्धित बजार वितरक आफैले लगाउन सक्ने, लेबल नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने, लेबलको दुरुपयोग हुन नदिन पैठारीकर्ता तथा वितरकले लेवल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नु पर्ने र पैठारीकर्ता/वितरकले लेवलमा बार कोड, क्यूआर कोड सुरक्षा स्टीकर लगायतका आफ्नो पहिचान राख सक्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु