हामी विस्तारै ऋणको जालोमा फस्दै गएका छौं: सांसद देवकोटा
काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले मुलुकमा २१ खर्ब ऋण तिर्न बाँकि रहेनु ऋणको जालोमा फस्न लागेको संकेत भएको बताए ।
कूल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको उनले बताए ।
सांसद देवकाटाले सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको समेत उनले बताए ।
‘सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयमा हो । यो आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ । यो शीर्षकमा अघिल्लो पटक १३४ अर्बको बजेट रहेको थियो । अहिले चाँही २७५ अर्ब । यसमा वैदेशिक ऋण मात्रै जोडने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ,’ उनले भने, ‘यसले के संकेत गर्यो भने हामी विस्तारै ऋणको जालोमा, ऋणको पासोमा पस्दैछौं भन्ने संकेत गरिदियो । त्यो बजेटको डाटाले पनि त्यही भन्छ । अब यो आर्थिक सर्वेक्षण अनुसार हामीले तिर्नुपर्ने ऋण चाँही २१ खर्ब छ । हाम्रो ऋण चाँही कूल जिडीवीको ४२ प्रतिशत हुँदो रहेछ । यो चाँही हामीले तिर्नुपर्ने ऋण दायित्व छ । तर, ऋण लिएर घिऊ खाएजस्तो अवस्था छ ।’
सांसद देवकोटाले सरकारले ल्याएको बजेट संघीयता बिरोधी रहेको टिप्पणी गरे ।