पेट्रोल र ग्यासको मूल्य घटेर आयो



काठमाडौं । भारतबाट पेट्रोल र ग्यासको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य घटेर आएको हो । तर डिजेलको मूल्यभने केही बढेर आएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको जानकारी दिए । त्यस्तै, मट्टितेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ । त्यसबाहेक पेट्रोलको मूल्य भने ७ पैसा र एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ ।

उनकाअनुसार एलपीजी ग्यासमा यसअघि १६० रुपैयाँ घाटा थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीले एलपीजी ग्यासमा भने घाटा नहुने भएको छ ।

‘विशेषगरी एलपीजी ग्यास र डिजेलको मूल्य घटबढले नाफा घाटामा ठूलो असर पार्छ,’ उनले क्लिकमान्डुसँग भने, ‘एलपीजी ग्यासको मूल्य घटेर आउँदा नाफाघाटा बराबर हुनेछ ।’

निगमले यदि हाल कायम गरेको मूल्यलाई स्थिर राखेमा आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरेको छ ।

निगमले हालै मात्रै आइओसीलाई दिनुपर्ने २४ अर्ब रुपैयाँ ऋण तिरेर ऋणमुक्त भएको छ । करिब १४ महिनापछि निगमले आइओसीको ऋण चुक्ता गरेको जनाएको छ ।


क्लिकमान्डु