५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागका महानिर्देशको सरुवा, प्रधानमन्त्रीका निजी सचिवलाई जिम्मेवारी



काठमाडौँ । सरकारले ५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । विभागका महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालमा सरुवा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव नवराज ढुंगानालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

दाहाल प्रधानमन्त्री भएपछी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सापकोटालाई गत माघ २२ गते विभागको महानिर्देशक बनाइएको थियो ।

प्रधानमन्त्री दाहालले यसअघी तीन महिनामै राजस्व अनुसन्धान विभागको महानिर्देशक हेरफेर गरेका थिए । विभागको महानिर्देशक भएको तीन महिनामै तत्कालिन महानिर्देशक मदन दाहाललाई गत माघ १९ गते श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा गरिएको थियो । पछिल्लो सुरुवा सँगै पछिल्लो २० महिनामा विभागमा ५ जना महानिर्देशक परिवर्तन भएका छन् ।

दाहाल प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन १९ दिन मात्रै बाँकी रहेको अवस्थामा गत कात्तिक १५ गते राजस्व छली सम्बन्धी अनुसन्धान गर्ने महत्वपूर्ण विभागको महानिर्देशक बनेका थिए ।

त्यसबखत निर्वाचन आचारसंहिता लागेकाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निर्वाचन आयोगसँग सहमति लिएर दाहाललाई विभागको जिम्मेवारी दिएको थियो ।

विभागको महानिर्देशक छोटो अवधीमा सरुवा हुनु नौलो भने होइन् । दाहाललाई महानिर्देशकको जिम्मेवारी दिँदा पनि ४ महिना मात्रै विभागको महानिर्देशक भएका झलकराम अधिकारीलाई सरूवा गरिएको थियो ।

तत्कालिन प्रधाानमन्त्री शेरबहादुर देउवाले जेठ ३० गते प्रकाश पौडेललाई हटाएर अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । पौडले भने विभागमा १० महिना काम गर्न पाएका थिए । पौडेलले २०७८, असोज १३ गते महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

विभागमा २०७७ फागुनमा महानिर्देशक भएका रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशमा सरूवा गरेर पौडेललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

आचार्यले पनि विभागमा ७ महिना मात्रै काम गर्न पाएका थिए । पौडेले भन्दा अगाडी दीर्घप्रसाद मैनाली भने लामो समय महानिर्देशक भएका थिए । मैनालीले २० महिना विभागको नेतृत्व सम्हालेका थिए । २०७८ असोज यता भने पाँचौँ पटक महानिर्देशक सरुवा गरिएको छ ।

कर र भन्सार छली सम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विभागको नेतृत्व पछिल्लो अस्थिर हुँदा राजस्व चुहावट सम्बन्धी अनुसन्धान प्रभावकारी हुन नसकेको विभागका अधिकारीहरु बताउँछन् ।

ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भएका थिए।

ढुंगानाले वीरगन्ज भन्सार, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय दलित आयोग र वन तथा वातावरण मन्त्रालयमा काम गरेका छन् ।


क्लिकमान्डु