११ महिनामा १५ अर्बको फलफूल आयात, आन्तरिक उत्पादन कति ?



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १५ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ११ महिनाको अवधिमा १४ अर्ब ९९ करोड ७२ लाख रुपैयाँको २४ करोड ७९ लाख ११ हजार किलो फलफूल आयात भएको हो ।

नेपालले विभिन्न प्रकारका फलफूल विभिन्न देशबाट आयात गरी बजारमा आपूर्ति गर्दै आएको छ । आन्तरिक उत्पादन कमजोर हुँदा आयातमा भर पर्नुपर्ने बाध्यता छ ।

नेपाल हालसम्म केरामा केही मात्रामा आत्मनिर्भर भएको छ । नेपालमा वार्षिक १६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने ६ हजार मेट्रिक टन आयात गर्नुपर्ने हुन्छ । तर, अन्य फलफूलमा भने नेपाल पूर्णरुपमा परनिर्भर छ ।

नेपालले गत वर्ष साढे १७ अर्ब रुपैयाँबराबरको फलफूल आयात गरेको थियो भने गत वर्षको ११ महिनाको अवधिमा १६ अर्ब १५ करोड रुपैयाँको फलफूल आयात भएको थियो ।

गत वर्षको तुलनामा भने यो वर्ष फलफूल आयात कम भएको छ । तथ्यांकअनुसार यो वर्षको ११ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड रुपैयाँले कम आयात भएको छ ।

साढे ६ अर्बको मात्रै स्याउ आयात

नेपालले १५ अर्बको फलफूल आयात गर्दा स्याउको हिस्सा निकै ठूलो छ । सबै मौसममा खपत हुने स्याउ नेपालले ११ महिनाको अवधिमा ६ अर्ब ६७ करोड ५२ लाख ६७ हजार रुपैयाँको ७ करोड ९५ लाख ९० हजार किलो आयात गरेको छ ।

नेपालले विशेषगरी चीन र भारतबाट फलफूल आयात गर्ने गरेको तथ्यांकले देखाउँछ । समीक्षा अवधिमा चीनबाट ४ अर्ब ७३ करोड ७५ लाख र भारतबाट १ अर्ब ९३ करोड रुपैयाँको स्याउ आयात भएको हो । त्यस्तै २७ लाख २० हजार रुपैयाँको स्याउ स्विट्जरल्यान्डबाट र ५० लाख ३४ हजार रुपैयाँको अमेरिकाबाट आयात भएको छ ।

स्याउपछि नेपालले बढी आयात गर्नेमा अंगुर छ । विभागका अनुसार नेपालले ११ महिनाको अवधिमा २ अर्ब ३४ करोड ६९ लाख रुपैयाँको अंगुर आयात गरेको छ । बढीजसो अंगुर भारतबाट भित्रिन्छ ।

नेपालले भारतबाट १ अर्ब ३९ करोड ६१ लाख रुपैयाँको केरा आयात गरेको छ । समीक्षा अवधिमा १ करोड ६६ लाख रुपैयाँको अंजिर, ११ करोड ७६ लाख रुपैयाँको भुइँकटहर, ८ करोड ३ लाख रुपैयाँको एभोकाडो, ५३ करोड ६२ लाख रुपैयाँको आँप र अम्बा, ८६ करोड ५० लाख रुपैयाँको सुन्तला र ६३ करोड ४ लाख रुपैयाँको कागती आयात भएको छ ।

त्यस्तै ४ करोड  २८ लाख रुपैयाँको सिट्रस, ६५ करोड ६५ लाख रुपैयाँको खरबुजा, २८ करोड ७१ लाख रुपैयाँको मेवा, ११ करोड ३६ लाख रुपैयाँको नास्पति, ७ करोड २१ लाख रुपैयाँको किवी, ८८ करोड रुपैयाँको ९ लाख रुपैयाँको अनार, २ करोड ३१ लाख रुपैयाँको लिची र अन्य फलफूल २२ करोड ५२ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

त्यसबाहेक चेरी, स्ट्रबेरी, क्र्यानबेरी, हलुवावेदलगायत अन्य फलफूल पनि आयात भएका छन् ।

यस्तो छ फलफूलको आन्तरिक उत्पादन

नेपालमा फलफूल उच्च खपत भए पनि आन्तरिक उत्पादन भने निकै कमजोर छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको आन्तरिक उत्पादन वार्षिक १४ सय मेट्रिक छ । तथ्यांकमा हरेक वर्ष फलफूलको उत्पादन बढ्दै गएको छ ।

नेपालमा आव २०७०/७१ मा ९ लाख ६५ मेट्रिक फलफूल उत्पादन भएको थियो । त्यस्तै, आव २०७१/७२ मा ९ लाख ९१ हजार मेट्रिक टन, आव २०७३/७४ मा १० लाख २५ हजार मेट्रिक टन र आव २०७४/७५ मा १० लाख १० हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो ।

त्यस्तै आव २०७५/७६ मा ११ लाख ७८ मेट्रिक टन, आव २०७६/७७ मा १२ लाख ४९ हजार मेट्रिक टन, आव २०७७/७८ मा १३ लाख ६० हजार मेट्रिक टन, आव २०७८/७९ मा १४ लाख १६ हजार मेट्रिक टन र आव २०७९/८९ को फागुन मसान्तसम्ममा १४ लाख ४७ हजार मेट्रिक टन उत्पादन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।


अरिष्मा मोक्तान