विकास ऋणपत्रको ब्याज १६ महिनापछिकै सस्तो, ट्रेजरी बिलको ब्याजदर पनि घट्यो



काठमाडौं । बैंक वित्तीय संस्थामा लगानीयोग्य पुँजी पर्याप्त भएसँगै आन्तरिक ऋणको ब्याज घटेको छ । गत वर्ष १३.९९ प्रतिशत ब्याज दिएर आन्तरिक ऋण लिएको सरकारले मंगलबार ३.५७ प्रतिशत ब्याजदरमा २८ दिनको ट्रेजरी बिल बिक्री गर्दै ऋण उठाएको छ ।

तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋण पत्र लगायतका सबै उपकरणको ब्याजदर घटेको छ ।

चालू आर्थिक वर्षको पुस ६ गते १०.९३ प्रतिशत ब्याज दिएर विकास ऋणपत्र बिक्री गर्दै ५ अर्ब रुपैयाँ लिएको सरकारले मंगलबार ६.९३ प्रतिशत ब्याजदरमा विकास ऋणपत्र बिक्री गर्दै १० अर्ब रुपैयाँ ऋण उठाएको छ ।

मंगलबार नेपाल सरकारले विकास ऋणपत्रमा तिरेको ब्याजदर १६ महिनायताकै न्यून हो । यसअघि २०७८ फागुन ९ गते विकास ऋणपत्रको ब्याजदर ६.९३ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाले बजारमा कर्जा लगानी गर्नुभन्दा पनि ट्रेजरी बिल किन्न जोड दिएकाले आन्तरिक ऋण लिने सरकारको लागत सस्तो भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले औषतमा ८.८९ प्रतिशत ब्याजदर दिँदै विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाएको छ।चालु आर्थिक वर्षको ११ महिनामा सरकारले विभिन्न उपकरण प्रयोग गर्दै २ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

गत साउनदेखि महँगो ब्याज तिरिरहेको सरकारलाई ब्याजदरमा आएको गिरावटले राहत दिएको छ ।

मंगलबार ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । मंगलबार २८ दिनको ट्रेजरी बिल ३.५७ प्रतिशतदेखि ५.६९ प्रतिशत ब्याजदरमा बिक्री गर्दै सरकारले १० अर्ब रुपैयाँ ऋण उठाएको छ । राष्ट्र बैंककाअनुसार जेठ २३ गतेसम्म २८ दिनको ट्रेजरी बिलको ब्याज ७.३६ प्रतिशत थियो ।

यस्तै, ९१ दिनको ट्रेजरी बिलमा ६.८८ प्रतिशतदेखि ७.१९ प्रतिशत ब्याज दिँदै सरकारले ९ अर्ब ५३ करोड रुपैयाँ ऋण लिएको छ । त्यसमा मंगलबार सरकारले ९१ दिनको ४ अर्ब रुपैयाँ नयाँ ऋण हो भने बाकीँ पुरानै ऋणलाई नविकरण गरिएको हो । १५ दिन अगाडी ९१ दिनको टे्रजरी बिलको ब्याजदर ८.८६ प्रतिशत थियो ।

यस्तै, असारमा १८२ दिनको ट्रेजरी बिलमाको ब्याजदर पनि घटेको छ । गत जेठ २३ गते १८२ दिनको ट्रेजरी बिलको ब्याजदर ८.७२ प्रतिशत रहेकोमा मंगलबार सरकारले ६.७ प्रतिशत देखि ७.३ प्रतिशत ब्याजदरमा १८२ दिनको ट्रेजरी बिल बिक्री गर्दै ६ अर्ब ३३ करोड रुपैयाँ ऋण उठाएको छ । त्यसमा ३ अर्ब रुपैयाँ मात्रै नयाँ ऋण हो । बाकीँ ऋणलाई ब्याजदर घटाएर नविकरण गरिएको हो ।

३६४ दिनको ट्रेजरी बिलमा ६.९६ प्रतिशतदेखी ७.४६ प्रतिशत ब्याज दिँदै ५ अर्ब रुपैयाँ ऋण लिएको छ । यो पनि सरकारले ब्याजदर घटाउँदै नविकरण गरेको हो । दुई साता अगाडी ३६४ दिनको टे्रजरी बिलको ब्याजदर ८.३३ प्रतिशत थियो ।

तर, मंगलबार नेपाल सरकारले गत महिनामा भन्दा कम ब्याजदरमा आन्तरिक ऋण नविकरण गरेको हो ।

चालू आर्थिक वर्ष साउन १० गते २८ दिनको ट्रेजरी बिलमा १२.२४ प्रतिशत, ९१ दिनको ब्याजदरमा १३.९९ प्रतिशत ब्याज दिइएको थियो । यस्तै, साउन १७ गते १८२ दिनको ट्रेजरी बिलमा १०.९९ प्रतिशत ब्याज दिइएको थियो ।

बजारमा तरलता सहज हुँदा असार ३ गते सिडी रेसियो ३.८ प्रतिशतमा झरेको छ । प्राय सबै बैंकसँग अधिक तरलता भएकाले असार ३ गते अन्तरबैंक ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ ।

बैंक वित्तीय संस्थालाई आर्थिक वर्षको अन्तिम महिनामा चालू पुँजी प्रकृतिको कर्जा लिन रोक लगाएका तत्कालै बैंक वित्तीय संस्थाको कर्जा लगानी बढ्ने सम्भावना छैन ।

बाणिज्य बैंकका अधिकारीहरु आगामी दिनमा पनि कर्जाको ब्याजदर स्थिर रहने बताउँछन् ।


क्लिकमान्डु