कोरोना महामारीको जस्तो सुविधा दिन सकिँदैन: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीमा दिएको जस्तो सुविधा दिन नसकिने प्रष्ट पारेका छन् ।

नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले कोरोनाको समयमा कर्जा भुक्तानी गर्न सहज होस् भनेर पुनर्तालिकीकरण,पुनसंरचना , पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा लगायतको सुविधा दिइए पनि आगामी दिन त्यस्तो सुविधा दिन नसकिने बताए ।

‘कोरोनाको समयमा राष्ट्र बैंकले दिएको सुविधाको ऋणीले दुरुपयोग गरे । बैंकले पनि कर्जा दुरुपयोग गर्नेमाथि कुनै एक्सन लिएन’ अधिकारीले भने, ‘जसले गर्दा अहिले समस्या देखिएको हो । केही व्यवसायीले अहिले पनि विगतको जस्तै सुविधाको अपेक्षा गरेका छन् । तर, व्यवसायीलाई सुविधा दिने नीतिले बैंकलाई कति असर गर्छ भनेर हामी सुक्ष्म रुपमा हेर्छौं ।’

एउटालाई सहुलियत दिँदा अर्को पक्षलाई समस्यामा पार्न नहुने अधिकारीको भनाइ छ ।

बजेटले लिएको आर्थिक वृद्धि, मूल्य वृद्धिलाई न्यून गराउन सहयोग हुने गरि मौद्रिक नीति आउने उनले बताए । सरकारले लिने नीति पूरा गर्न कति मौद्रिक नीति बिस्तार गर्ने भनेर ध्यान दिने उनले बताए ।

गभर्नर अधिकारीले माइक्रो फाइनान्सले गरेको योगदानलाई सडक आन्दोलन हुँदैनमा बिर्सन नसकिने बताए । उनले ऋण लिएपछि सबैले तिर्नुपर्ने अधिकारीले बताए । कसैले पैसा तिर्नुपर्दैन कि भनेर सोच्न नमिल्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा जारी मर्जरले राम्रो नतिजा देखाएको गभर्नर अधिकारीको भनाइ छ ।

उनले राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न नचाहेको बताए ।

‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन । बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो । त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था यही वर्ष बनाउने र कार्यान्वयनमा जाने तयारी छ ।’

अधिकारीले सहकारीको पैसा जग्गामा गएकाले दोस्रो तहको नियामक खोलेपछि समस्या समाधान हुने बताए ।


क्लिकमान्डु