निक्षेप संकलन तथा कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक अगाडि, पछ्याउँदै नबिल, अरुको स्थिति कस्तो ?



काठमाडौं । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमा निक्षेप संकलन तथा कर्जा प्रवाहका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ४ खर्ब २१ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ भने ३ खर्ब ७७ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ ।

गत वर्षको असार मसान्तको तुलनामा बैंकको निक्षेप संकलन उत्साहजनक छ भने कर्जा प्रवाह ऋणात्मक छ । असार मसान्तसम्ममा ३ खर्ब ९७ अर्ब ५९ करोड निक्षेप संकलन गरेको बैंकले वैशाख मसान्तसम्ममा २४ अर्ब २३ करोडले बढाएर ४ खर्ब २१ अर्ब ८२ करोड पुर्‍याएको छ ।

कर्जा प्रवाह भने १ अर्ब १६ करोडले घटेर ३ खर्ब ७३ अर्ब ९३ करोडबाट ३ खर्ब ७७ अर्ब ७७ करोडमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

निक्षेप संकलन उल्लेख्य बढाएको नबिल बैंक दोस्रोमा स्थानमा छ । असार मसान्तसम्ममा नबिल बैंकले ३ खर्ब २९ अर्ब ५७ करोड निक्षेप संकलन गरेकोमा वैशाख मसान्तसम्ममा ४४ अर्ब ३२ करोडले बढाएर ३ खर्ब ७३ अर्ब ८९ करोड पुर्‍याएको छ ।

त्यस्तै गत असारमा नबिल बैंकले ३ खर्ब ९ अर्ब ६ करोड कर्जा प्रवाह गरेको थियो । वैशाख मसान्तसम्ममा सबै बैंकहरुको भन्दा धेरै २५ अर्ब ५३ करोड रुपैयाँले बढाएर ३ खर्ब ३४ अर्ब ५९ करोड पुर्‍याएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

निक्षेप संकलन र कर्जा प्रवाहका दृष्टिले तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छ । बैंकले गत असारसम्ममा ३ खर्ब ४२ अर्ब ७० करोड निक्षेप संकलन गरेको थियो । वैशाख मसान्तसम्ममा ११ अर्ब ५ करोडले बढाएर ३ खर्ब ५३ अर्ब ७५ करोड पुर्‍याएको छ ।

बैंकको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह अलि सुस्त छ । असारसम्ममा ३ खर्ब १८ अर्ब २० करोड कर्जा प्रवाह गरेको बैंकले वैशाख मसान्तसम्ममा जम्मा ३ अर्ब ९३ करोडले बढाएर ३ खर्ब २२ अर्ब १३ करोड पुर्‍याएको छ ।

कुमारी बैंक

असारसम्ममा कुमारी बैंकले ३ खर्ब २४ अर्ब ४४ करोड निक्षेप संकलन गरेको थियो । वैशाख मसान्तसम्ममा निक्षेप १२ अर्ब ६९ करोड रुपैयाँले घटेर ३ खर्ब ११ अर्ब ७५ करोडमा झरेको छ । समीक्षा अवधिमा कर्जा प्रवाह २ खर्ब ८६ अर्ब ३७ करोडबाट जम्मा ८४ करोड बढेर २ खर्ब ८७ अर्ब २१ करोड पुगेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले असारदेखि वैशाखसम्ममा निक्षेप १८ अर्ब २७ करोड रुपैयाँले बढाएर २ खर्ब ९४ अर्ब ९८ करोडबाट ३ खर्ब १३ अर्ब २५ करोड पुर्‍याएको छ भने कर्जा प्रवाह ७ अर्ब ४२ करोडले बढाएर २ खर्ब ६८ अर्ब २४ करोडबाट २ खर्ब ७५ अर्ब ६६ करोड पुर्‍याएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

हिमालयन बैंक

हिमालयन बैंकले असारसम्ममा २ खर्ब ६७ अर्ब ५१ करोड निक्षेप संकलन गरेको थियो भने २ खर्ब ४३ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको थियो । वैशाख मसान्तसम्ममा निक्षेप ६ करोडले घटेर २ खर्ब ६७ अर्ब ४५ करोडमा झरेको छ भने कर्जा प्रवाह ५ अर्ब २ करोडले बढेर २ खर्ब ४८ अर्ब ६५ करोड पुगेको छ ।

एभरेस्ट बैंक

असारसम्ममा एभरेस्ट बैंकको १ खर्ब ७३ अर्ब ४० करोड रुपैयाँ थियो भने १ खर्ब ५४ अर्ब ५५ करोड थियो । बैंकले निक्षेप १४ अर्ब २० करोडले बढाएर १ खर्ब ८७ अर्ब ६० करोड पुर्‍याउँदा कर्जा प्रवाह १० अर्ब १४ करोडले बढाएर १ खर्ब ६४ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ ।

सिटिजन्स बैंक

गत असारसम्ममा १ खर्ब ५५ अर्ब १४ करोड निक्षेप संकलन गरेको सिटिजन्स बैंकले वैशाख मसान्तसम्ममा ६ अर्ब २० करोड रुपैयाँले बढाएर १ खर्ब ६१ अर्ब ३४ करोड पुर्‍याएको छ भने कर्जा प्रवाह १ खर्ब ३५ अर्ब ७७ करोडबाट ६ अर्ब ८४ करोड बढाएर १ खर्ब ४२ अर्ब ६१ करोड पुर्‍याएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले १० महिनामा निक्षेप २ अर्ब ४५ करोडले बढाएर १ खर्ब ४८ अर्ब ७० करोडबाट १ खर्ब ५१ अर्ब १५ करोड पुर्‍याउँदा कर्जा प्रवाह १ खर्ब २९ अर्ब ६१ करोडबाट २ अर्ब ६३ करोड रुपैयाँले बढाएर १ खर्ब ३२ अर्ब २४ करोड पुर्‍याएको छ ।

एनएमबी बैंक

एनएमबी बैंकको असारसम्ममा निक्षेप संकलन १ खर्ब ८६ अर्ब ४० करोड रहेकोमा कर्जा प्रवाह १ खर्ब ८२ अर्ब ९ करोड थियो । वैशाख मसान्तसम्ममा निक्षेप १२ अर्ब ८४ करोडबाट बढेर १ खर्ब ९९ अर्ब २४ करोड पुगेको छ भने कर्जा १० अर्ब ४७ करोडले बढेर १ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले १० महिनाको अवधिमा निक्षेप १ खर्ब १९ अर्ब ६६ करोडबाट २३ अर्ब ६८ करोडले बढाएर १ खर्ब ४३ अर्ब ३४ करोड पुर्‍याएको छ भने कर्जा प्रवाह १३ अर्ब ५ करोडले बढाएर १ खर्ब १० अर्ब ६९ करोडबाट १ खर्ब २३ अर्ब ७४ करोड बनाएको छ ।

प्रभु बैंक

गत असारसम्ममा प्रभु बैंकको निक्षेप संकलन २ खर्ब ८३ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह २ खर्ब ४१ अब ८८ करोड थियो । वैशाख मसान्तसम्ममा निक्षेप ३ अर्ब ८१ करोडले घटेर २ खर्ब ७९ अर्ब ७३ करोडमा झरेको भने कर्जा प्रवाह १ अर्ब २४ करोडले बढेर २ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ नाघेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले १० महिनाको अवधिमा निक्षेप ३ अर्ब १९ करोडले बढाएर १ खर्ब ६५ अर्ब ३७ करोडबाट १ खर्ब ६८ अर्ब ५६ करोड बनाएको छ भने कर्जा ७ अर्ब १९ करोडले बढाएर १ खर्ब ५४ अर्ब ९५ करोडबाट १ खर्ब ६२ अर्ब १४ करोड पुर्‍याएको छ ।

सानिमा बैंक

असारदेखि वैशाखसम्ममा सानिमा बैंकले निक्षेप १ खर्ब ५८ अर्ब ८८ करोडबाट ८ अर्ब ७३ करोडले बढाएर १ खर्ब ५८ अर्ब ८८ करोडबाट १ खर्ब ६७ अर्ब ६१ करोड पुर्‍याउँदा कर्जा प्रवाह १ खर्ब ४० अर्ब ८३ करोडबाट ६ अर्ब ५३ करोड रुपैयाँले बढाएर १ खर्ब ४७ खर्ब ३६ करोड पुर्‍याएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको १० महिनाको अवधिमा निक्षेप २० अर्ब २९ करोडले बढाएर १ खर्ब ९६ अर्ब ४८ करोडबाट २ खर्ब १६ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह ३ अर्ब ५० करोडले बढेर १ खर्ब ८६ अर्ब ९ करोडबाट १ खर्ब ८९ अर्ब ५० पुगेको छ ।

मर्जरमा गए लक्ष्मी र सनराइज

लक्ष्मी बैंकले असार मसान्तसम्ममा १ खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३२ अर्ब ५७ करोड कर्जा प्रवाह गरेको थियो । वैशाख मसान्तसम्ममा निक्षेप १२ अर्ब ४५ करोडले बढाएर १ खर्ब ५२ अर्ब ३३ करोड पुर्‍याएको छ भने कर्जा २ अर्ब ९४ करोडले बढाएर १ खर्ब ३५ अर्ब ५१ करोड पुर्‍याएको छ ।

त्यस्तै सनराइज बैंकले असारदेखि वैशाखसम्ममा निक्षेप ७६ करोडले बढाएर १ खर्ब ३४ अर्ब ७९ करोडबाट १ खर्ब ३५ अर्ब ५५ करोड पुर्‍याउँदा कर्जा प्रवाह ६३ करोडले घटेर १ खर्ब २३ अर्ब ७७ करोडबाट १ खर्ब २३ अर्ब १४ करोडमा झरेको छ । लक्ष्मी बैंक र सनराइज बैंकले आजै (जेठ ८ गते) मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक पुछारमा

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक निक्षेप-कर्जा दुवै संकलनका हिसाबले सबैभन्दा पुछारमा छ । १० महिनाको अवधिमा बैंकको निक्षेप संकलन १२ अर्ब २४ करोडले बढेर १ खर्ब १ अर्ब ९५ करोडबाट १ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ पुग्दा कर्जा प्रवाह ५ अर्ब ५२ करोडले बढेर ८९ अर्ब ५९ करोडबाट ९५ अर्ब ११ करोड पुगेको छ ।

तीन सरकारी बैंकको अवस्था कस्तो ?

समीक्षा अवधिका १० महिनामा कृषि विकास बैंकले निक्षेप संकलन १७ अर्ब ९९ करोडले बढाएर १ खर्ब ६६ अर्ब ७१ करोडबाट १ खर्ब ८४ अर्ब ७० करोड पुर्‍याउँदा कर्जा प्रवाह १ खर्ब ७८ अर्ब ५५ करोडबाट १‍ अर्ब ९७ करोडले बढाएर १ खर्ब ८० अर्ब ५२ करोड पुर्‍याएको छ ।

त्यस्तै नेपाल बैंकले निक्षेप संकलन असारदेखि वैशाखसम्ममा ३५ अर्ब ६३ करोडले बढाएर १ खर्ब ९७ अर्ब ११ करोडबाट २ खर्ब ३२ अर्ब ७४ करोड पुर्‍याएको छ भने कर्जा प्रवाह १ अर्ब २१ करोड बढाएर १ खर्ब ८० अर्ब ८२ करोडबाट १ खर्ब ८२ अर्ब ३ करोड पुर्‍याएको छ ।

राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंकमध्येमा अगाडि छ । गत असारसम्ममा बैंकले २ खर्ब ५६ अर्ब ६४ करोड निक्षेप तथा २ खर्ब २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको थियो । १० महिनाको अवधिमा बैंकले निक्षेप सबै बैंकको भन्दा धेरै ४७ अर्ब ४ करोडले बढाएर ३ खर्ब ३ अर्ब ६८ करोड पुर्‍याउँदा कर्जा प्रवाह ९ अर्ब ५९ करोडले बढाएर २ खर्ब ३८ अर्ब २४ करोड पुर्‍याएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

ब्याजदर घट्दै

उच्च ब्याजदरका कारण बैंकहरुमा कर्जा प्रवाह सुस्त बनेपछि ब्याजदर घट्न थालेको छ । माघ र फागुनमा भारित औसत ब्याजदर १३.०३ प्रतिशतमा स्थिर रहेकोमा चैतमा १२.८४ प्रतिशतमा झरेको हो ।

आधार दर भने पुसमा सबैभन्दा उच्च १०.९१ प्रतिशत रहेकोमा माघदेखि नै घट्न थालेको छ । चार महिनामा आधार दर ०.४८ प्रतिशत विन्दुले घटेको हो । आधार दर चार महिनामा ०.४८ विन्दुले घट्दा बैंकहरुले एक महिनाअघि ब्याजदर ०.१९ प्रतिशत विन्दुले मात्र घटाएका हुन् ।

निक्षेपको औसत ब्याजदर पनि पुसको उच्च विन्दु ८.५१ बाट ०.२५ प्रतिशत विन्दुले घटेर चैतमा ८.२६ प्रतिशतमा झरेको छ ।

अन्तिम तीन महिनाको औसत ब्याजदर १०.४६ प्रतिशत रहेकोमा वैशाखमा १०.२७ प्रतिशतमा झरेको छ ।

वैशाखमा निक्षेप संकलन सुस्त, कर्जा प्रवाह ऋणात्मक

चालू आवको १० महिनामा २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा १ खर्ब २३ अर्ब कर्जा प्रवाह भएको छ । चैतमा मात्र ५५ अर्ब निक्षेप संकलन हुँदा २८ अर्ब ७६ करोड कर्जा प्रवाह भएको छ ।

वैशाखमा भने निक्षेप संकलन र कर्जा प्रवाह दुवै सुस्ताएको छ । वैशाखमा १३ अर्ब निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह १० अर्ब ७६ करोडले ऋणात्मक भएको छ ।

वैशाखमा २१ मध्ये ९ वटा बैंकको निक्षेप संकलन ऋणात्मक छ भने १३ बैंकको कर्जा प्रवाह ऋणात्मक छ ।

असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रहेको कुल निक्षेप वैशाख मसान्तसम्ममा ४८ खर्ब ४० अर्ब ४४ करोड पुगेको छ भने ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कुल कर्जा ४२ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।


डीआर आचार्य