ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।
सञ्चालक समितिको बुधबार सम्पन्न २७औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भएका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ ।
उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा काम गरिसकेका छन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । क्यापिटलले चालू आवको तेस्रो त्रैमाससम्ममा १ करोड २४ लाख ७१ हजार नाफा गरेको छ ।