१० प्रतिशत ब्याज तिरेर कर्जाको पुन:संरचना/पुन:तालिकीकरण गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि वित्तीय संस्थाहरुलाई परिपत्र गरेको छ । तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि केन्द्रीय बैंकले समीक्षालगत्तै वित्तीय संस्थाहरुलाई परिपत्र गरेको हो ।

परिपत्रसँगै बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपन्छीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी पुन:तालिकीकरण तथा पुन:संरचना गर्न सकिने भएको छ ।

पुन:तालिकीकरण वा पुन:संरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्ने छ । २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुन:तालिकीकरण वा पुन:संरचना गर्न सकिनेछ ।

पुन:तालिकीकरण वा पुन:संरचना गरिएका कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । पुन:तालिकीकरण वा पुन:संरचना गरिएको कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

राष्ट्र बैंकले समीक्षाका क्रममा ‘वा’ मात्र अक्षर राखे पनि परिपत्रमा ‘र’ र ‘वा’ दुवै उल्लेख गरेको छ । यसको अर्थ पुन:तालिकीकरण वा पुन:संरचनामध्ये एक अथवा पुन:तालिकीकरण र पुन:संरचना दुवै गर्न सकिनेछ ।

होटल संघ नेपाल (हान) लगायतका केही संस्थाले राष्ट्र बैंकको मौद्रिक समीक्षाबाट उत्साहित भए पनि कार्यान्वयन समयमा नहुने हो कि भन्ने चिन्ता व्यक्त गरेका  थिए ।


क्लिकमान्डु