इच्छाराज तामाङको १९ वटा हाउजिङ लिलामीमा



फाइल तस्बिर

काठमाडौं । सहकारीबाट बचतकर्तालाई ठगी गरेपछि जेलमा रहेका इच्छाराज तामाङको हाउजिङ बैंकले लिलामीमा राखेको छ । प्रभु बैंकले आज सूचना जारी गर्दै तामाङको हाउजिङ लिलामीमा राखेको हो ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकसँग लिएको कर्जा नतिरेपछि प्रभु बैंकले लिलामीको सूचना जारी गरेको हो । सेन्चुरी प्रभु बैंकमा गाभिएपछि प्रभुले लिलामीको सूचना जारी गरेको हो ।

कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानीका लागि पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दासमेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्नेतर्फ चासो नदेखाई आलटाल गरी बसेकाले हाउजिङ लिलामीमा राखेको प्रभु बैंकले जनाएको छ द।

तामाङ सहकारीको करिब ८ अर्ब बचत रकम ठगी गरेपछि जेल जीवन बिताइरहेका छन् ।

बैंकले कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु लिलामीमा राखेका हुन् । उक्त कम्पनीको सञ्चालकतामाङसँगै केशवलाख श्रेष्ठ रहेको छ ।

कोट्सेको शेयरधनी तथा संस्थागत जमानकर्तामा सिभिल होम्स प्रालि पनि रहेको छ । बैंकले काठमाडौंको डाँडापौवा (रामकोट) मा बनेको १९ वटा घर लिलामीको प्रक्रिया अगाडि बढाएको हो । उक्त घरहरु २ आनादेखि ९ आनासम्म बनेका छन् ।

कम्पनीले बैंकबाट ऋण लिई सवारी साधन खरिद गरेको थियो । खरिद गरेको सवारी साधन बैंकको नाममा आएपछि इच्छाराजकै कम्पनी सदस्यहरुले चलाइरहेका छन् । सोही सवारी साधन पनि बुझाउन बैंकले भनेको छ ।

बैंकको नाममा रहेको टाटा नेक्सन योद्धा, ब्याकहो लोडर, हुन्डाइ १२० एक्टिभ, र महिन्द्रा एण्ड महिन्द्राको गाडी फिर्ता बुझाउन बैंकले भनेको छ । सो सवारी साधनहरु विभिन्न कम्पनीको नाममा खरिद गरेको देखिन्छ । टाटा नक्सन र जेसीबी ब्याकहो लोडर कोट्से हाउजिङको नाममा खरिद भएको थियो भने हुन्डाइ १२० एक्टिभ महिन्द्राको गाडी सिभिल फर्निचर एण्ड ट्रेडिङ्ग कम्पनीको नाममा खरिद गरेको थियो ।

बैंकले सूचना प्रकाशित गरेको ३५ दिन भित्र बैंकमा सम्पर्क राखी सम्झौता बमोजिम बैंकलाई तिर्न बुझाउन बाँकी सम्पूर्ण रकम चुक्ता फछ्यौट गर्न गराउन हुन ऋणी, जमानतकर्ता तथा धितो सुरक्षण धनी लगायत सम्बद्ध सबैमा बैंकले सूचित गरेको छ ।


क्लिकमान्डु