अधिकांश लघुवित्तको नाफा घट्यो, ११ वटा नोक्सानीमा
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश लघुवित्तको नाफा घटेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तहरुमध्ये ४० वटा लघुवित्तको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । ११ वटा कम्पनीको नाफा ऋणात्मक छ । यस्तै, ४ वटा कम्पनीको नाफा भने बढेको छ ।
यस अवधिमा लघुवित्तहरुमध्ये सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । समीक्षा अवधिमा कम्पनीको नाफा २२.८१ प्रतिशतले बढेर ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीले ७१ करोड ७१ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, छिमेकसँगै फस्र्ट फाइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त र साना किसान लघुवित्तको नाफा बढेको छ । समीक्षा अवधिमा फस्र्ट माइक्रोफाइनान्सको नाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार, आरएमडिसीको नाफा ३.२० प्रतिशतले बढेर २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ र साना किसान लघुवित्तको नाफा १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ पुगेको हो ।
यस अवधिमा लक्ष्मी लघुवित्त ९ करोड १७ लाख, मनाकामना स्मार्ट ४२ लाख ५२ हजार, गुराँस लघुवित्त ५४ लाख ९१ हजार, सामुदायिक लघुवित्त ३ करोड ९४ लाख, यूनिक नेपाल ५ करोड ९८ लाख रुपैयाँ, विन नेपाल २ करोड ४० लाख, धौलागिरी ४१ लाख, मानुषी लघुवित्त ३ करोड ४७ लाख, जाल्पा सामूदायिक ३ करोड ९२ लाख, आरम्भ चौतारी ५६ लाख र खप्तड लघुवित्त ८९ लाख ३६ हजार रुपैयाँले नोक्सानीमा छन् ।
४० कम्पनीको नाफा घट्यो, कुनको कतिले घट्यो ?
वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा ४० वटा लघुवित्तको नाफा घटेको छ ।
गत आवको सोही अवधिको तुलनामा विजय लघुवित्तको नाफा ९८.०९ प्रतिशतले घटेर १७ लाख ६१ हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्सको नाफा ९६.४५ प्रतिशतले घटेर १ करोड ३० लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको ९४.५२ प्रतिशतले घटेर ४ करोड ४० लाख रुपैयाँ, जनउत्थान सामूदायिक लघवित्तको ९३.९२ प्रतिशतले घटेर ३६ लाख १४ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको ९३.५५ प्रतिशतले ४ करोड ३६ लाख रुपैयाँ र सिवाइसी लघुवित्तको नाफा ७७ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।
एनएमबी लघुवित्तको नाफा ८९.८० प्रतिशतले घटेर १ करोड १५ लाख, नाडेप लघुवित्तको ८९.९५ प्रतिशतले घटेर ५२ लाख २२ हजार रुपैयाँ, आर्दश लघुवित्तको नाफा ८८.५४ प्रतिशतले घटेर २ लाख ५१ हजार, स्वाभिमान लघुवित्तको ८८.९१ प्रतिशतले घटेर ३६ लाख ८१ हजार, किसान लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घटेर ६४ लाख ६६ हजार, सिभिल लघुवित्तको नाफा ८७.५९ प्रतिशतले घटेर ६५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ ।
साधना लघुवित्तको नाफा ८५.७५ प्रतिशत, महुली लघुवित्तको नाफा ८३.७३ प्रतिशत, नेरुडेको ८५.२२ प्रतिशत, ग्रामीण विकासको ७९.१९ प्रतिशतले नाफा घटेको छ ।
यस्तै, डिप्रोक्स लघुवित्तको नाफा ३६.३५ प्रतिशत, कालिका लघुवित्तको ६८.१५ प्रतिशत, निर्धन उत्थानको ९४.५२ प्रतिशत, स्वरोजगारको ६०.४१ प्रतिशत, समिटको ६२.३४ प्रतिशत, स्वाभलम्वनको ६५.२५ प्रतिशत, मिथिलाको ५७.७६ प्रतिशत, मिर्मिरेको ६३.८३ प्रतिशत, आरएसडिसीको ८.८१ प्रतिशत, आशाको ७३.२४ प्रतिशत, नेशनलको ३९.६५ प्रतिशत, गणपतिको २८.१५ प्रतिशत, ग्लोबल आइएमईको ६७.३९ प्रतिशत, नेष्डोको १०.८५ प्रतिशत, महिलाको ५२.८० प्रतिशत, एनआइसी एशियाको ५८.९३ प्रतिशत, राष्ट्र उत्थानको ३२.९६ प्रतिशत, जीवन विकासको ४६.१२ प्रतिशत, सबैको लघुवित्तको ७८.१५ प्रतिशतले घटेको छ ।
यस्तै, समीक्षा अवधिमा आत्मनिर्भर लघुवित्तको नाफा २७.६४ प्रतिशत र सूर्योदय वोमीको ४५.०३ प्रतिशले घटेको छ ।