सिद्धार्थ बैंकले आईएफसीबाट भित्र्यायो ७ अर्ब



काठमाडौं । सिद्धार्थ बैंकले लघु, साना तथा मझौला उद्योग र क्लाइमेट फाइनान्सिङका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग साझेदारी गरेको छ । विश्व बैंक समूहको आईएफसीसँगको साझेदारीका विषयमा सिद्धार्थ बैंकले आज जानकारी गराएको हो ।

सम्झौताअनुसार लघु, साना तथा मझौला उद्योग र जलवायु परिवर्तनका क्षेत्रमा खर्च गर्ने गरी आईएफसीले ५ करोड ५० लाख डलर (७ अर्ब २४ करोड नेपाली रुपैयाँ) कर्जाबापत उपलब्ध गराउनेछ । आईएफसीले ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमबापत कर्जा उपलब्ध गराएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले आईएफसीले उपलब्ध गराएको कर्जा रोजगारी सिर्जना र साना कम्पनीको उत्थानमा खर्च हुँदा अर्थतन्त्रमा पनि टेवा पुग्ने बताए ।

‘विदेशी मुद्रा सञ्चितिमा दबाब परिरहेको सन्दर्भमा हामीले ल्याएको कर्जाले वित्तीय स्रोतका साथै बाह्य क्षेत्रमा परेको दबाबलाई सहज बनाउने अपेक्षा छ,’ उनले भने, ‘साना तथा मध्यम व्यवसाय प्रवर्धनमा यो रकम उपयोग हुनेछ ।’

त्यस्तै समझदारी पत्रमा हस्ताक्षरका लागि आयोजति कार्यक्रममा नेपालका लागि आईएफसीका कन्ट्री डाइरेक्टर बाबाकार सेदिख फायले नेपालको अर्थतन्त्र वृद्धिका लागि बृहत् रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले सिद्धार्थ बैंकसँगको सहकार्य दीर्घकालसम्म रहने विश्वास व्यक्त गरे ।

‘नेपालका लागि ग्रिन फाइनान्सिङ धेरै आवश्यक छ,’ उनले भने, ‘बैंकसँग सहकार्य गर्दा हामी खुसी छौं, दीर्घकालसम्म सहकार्य गर्न चाहन्छौं ।’ नेपाल लगानीका लागि उर्वर भूमि भएकाले धेरै आशावादी पनि रहेको बाबाकारको भनाइ छ ।

कार्यक्रममा सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले आईएफसीसँगको सहकार्य बैंकका लागि मात्र नभएर देशकै लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे ।


क्लिकमान्डु