विद्युतीय माध्यमबाट हुने कारोबार १५६ % ले बढ्यो



काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न खाले विद्युतीय माध्यमबाट हुने कारोबार बढ्दै गएका छन् । विद्युतीय कारोबार बढ्दा चेक काटने प्रवृति कम हुँदै गएको छ ।

अहिले बैंकमा सानो रकमको चेक लिएर साटन जानेभन्दा पनि विद्युतीय माध्यमबाट बढी कारोबार हुने गरेको छ ।

पछिल्लो समय क्यूआर कोड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङबाट हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा क्यू आर कोड बाट हुने भुक्तानी १५६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ क्यूआर कोडबाट कारोबार भएको । चालु आवको सोही अवधिमा यस्तो कारोबार १५६ प्रतिशतले बढेर २२ अर्ब ८९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

गत आवको चैत मसान्तमा २७ लाख २३ हजार ५८६ वटा कारोबार भएको थियो । चालु आवको सोही अवधिमा ७६ लाख ४४ हजार ७९१ वटा कारोबार भएको छ ।

यो अवधिमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङबाट हुने कारोबार पनि बढेको छ । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ गत चैतको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । गत चैत मसान्तसम्म २ लाख ७४ हजार ९४७ वटा करोबारबाट १३ अर्ब ५ करोड ९० लाख रुपैयाँको भुक्तानी भएको थियो । चालु आवको सोही अवधिमा २ लाख ७६ हजार ५५९ वटा कारोबारबाट १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँको भुक्तानी भएको छ ।

यस्तै मोबाइल बैंकिङबाट हुने भुक्तानी पनि ७९.७७ प्रतिशतले बढेको छ । गत चैत मसान्तमा १ खर्ब १५ अर्ब ३९ करोड ८० लाख रुपैयाँको भुक्तानी भएको छ ।

चालु आवको सोही अवधिमा उक्त रकम ७९.७७ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँको भुक्तानी भएको छ । गत आवको चैत मसान्तसम्म १ करोड ६४ लाख ५९ हजार ९६३ वटा कारोबार भएकामा चालु आवको सोही अवधिमा २ करोड ५७ लाख ३५ हजार ७९ वटा कारोबार भएको छ ।


क्लिकमान्डु