९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति



काठमाडौं । चालू आवको ९ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । साउनयता ५ लाख ४८ हजार ६६४ पुरूष र ५३ हजार ४८९ महिला गरी ६ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

प्रत्येक दिन २ हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेका छन् । साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् ।

सबैभन्दा बढी मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले बढेको छ ।

चैतसम्म तीन लाख ८७ हजार ८३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालू आवको ९ महिनामा ९ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । (रासस)


क्लिकमान्डु