काठमाडौंको गोकर्णमा ज्योति विकास बैंकको शाखा



काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा शाखा कार्यालय खोलेको छ । बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका-४ मा स्थापित गोकर्ण शाखाको उद्घाटन नगर प्रमुख दिपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । उद्घाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको पनि उपस्थिति थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका सञ्चालक रामकुमार श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कार्यक्रममा ज्योति विकास बैंक देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहेको प्रकाश पारे । शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकका १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।


क्लिकमान्डु