बैंकहरुले लिने एसएलएफ सुविधा घट्दै, वैशाख २० सम्म २७ खर्ब २६ अर्ब प्रवाह



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेपछि बैंकहरुले लिने स्थायी तरलता सुविधा (एसएलएफ) घटेको छ । घट्दो कर्जा प्रवाह र बढ्दो तरलताका कारण बैंकहरुले एसएलएफ सुविधा लिने क्रम घटेको हो ।

बैंकहरुले वैशाख २० सम्ममा २७ खर्ब २६ अर्ब ९२ करोड ८३ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले साउन १ देखि वैशाख २० सम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । १ हजार ६५३ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ ।

बिहीबार मात्रै बैंकहरुले १ करोड ८० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । माघ लागेपछि बैंकहरुले लिने एसएलएफ सुविधा घटिरहेको छ । चैत दोस्रो सातायता भने निकै घटेको छ ।

नयाँ वर्ष लागेपछि यो रकम झन् घटेको छ । चैत ३० गते बैंकहरुले ६ करोडबराबरको एसएलएफ सुविधा लिएका थिए । बैंकहरुले वैशाख ११ गते १ करोड ८० लाख, १२ गते ६ करोड, १५ गते १ करोड ८० लाख र २० गते १ करोड ८० लाख एसएलएफ सुविधा लिएका छन् ।

बैंकहरुले तरलता अभाव भएका बेला अर्बौं एसएलएफ सुविधा लिने गरेका छन् । बैंकहरुले सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ सुविधा लिएका थिए ।

यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड र भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् । असोजको २ दिनमा नै ६३ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।

बैंकहरुले नगद व्यवस्थापन गर्न धौ धौ परेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् । तरलता सहज भएपछि एसएलएफ सुविधा लिँदैनन् ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था छ । यसको ब्याजदर ८.५ प्रतिशत छ ।

बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि अन्तिम विकल्पका रुपमा एसएलएफ सुविधा लिने गरिन्छ । अहिले अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत छ ।


क्लिकमान्डु