वैशाखका १५ दिनमा निक्षेप पनि घट्यो, कर्जा प्रवाह पनि घट्यो



काठमाडौं । वैशाखका १५ दिनमा बैंक वित्तीय संस्थामा रहेको निक्षेप र कर्जा प्रवाह दुवै घटेको छ । चैतभरमा बैंक वित्तीय संस्थामा ७१ अर्ब निक्षेप थपिएकोमा वैशाखका १५ दिनमा २२ अर्ब रुपैयाँले घटेको हो ।

वैशाख १ सम्म बैंक वित्तीय संस्थामा ५४ खर्ब ७६ अर्ब निक्षेप रहेकोमा वैशाख १६ सम्ममा ५४ खर्ब ५४ अर्बमा झरेको छ । यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ४८ खर्ब २४ अर्बबाट घटेर ४८ खर्ब ८ अर्बमा झरेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले घटेको हो । अन्य वित्तीय संस्थाको निक्षेप पनि ६ खर्ब ५१ अर्बबाट घटेर ६ खर्ब ४६ अर्बमा झरेको छ ।

त्यस्तै समीक्षा अवधिमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह स्थिति पनि ऋणात्मक बनेको छ । वैशाखका १५ दिनमा वित्तीय संस्थाको कर्जा प्रवाह ४८ खर्ब ५१ अर्बबाट ४८ खर्ब ४५ अर्बमा झरेको छ । समीक्षा अवधिमा वित्तीय संस्थाको कर्जा प्रवाह ६ अर्बले ऋणात्मक बनेको हो ।

यो अवधिमा वाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह ४३ खर्ब १ अर्बबाट झरेर ४२ खर्ब ९५ अर्बमा झरेको छ । यो अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह ६ अर्बले घटेको हो । अन्य वित्तीय संस्थाको कर्जा प्रवाह भने ५ खर्ब ४९ अर्बबाट बढेर ५ खर्ब ५० अर्ब पुगेको छ ।

वैशाखका १५ दिनमा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भने बढेको छ । कर्जाको तुलनामा निक्षेप धेरै घटेकाले सीडी रेसियो बढेको हो । समीक्षा अवधिमा ८५.१६ प्रतिशतबाट बढेर सीडी रेसियो ८५.३७ प्रतिशतमा उक्लिएको छ ।

वाणिज्य बैंकहरुले वैशाखदेखि लागू हुने गरी बचतमा ब्याज घटाएपछि निक्षेप घटेको छ भने उच्च ब्याजदरका कारण कर्जाको माग भइरहेको छैन । जसका कारण कर्जा प्रवाह पनि ऋणात्मक बनेको छ ।

वैशाखदेखि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याज ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका छन् ।

त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतको बीचमा छ । कल डिपोजिटको ब्याजदर पनि २.७ प्रतिशतमा झारिएको छ । निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि ब्याजदर घट्छ ।

अहिले समग्र माग घटेका कारण ब्याजदर घटे पनि कर्जा प्रवाह ऋणात्मक बनेको छ । ब्याजदर घटेका कारण निक्षेप पनि निरुत्साहित हुँदा स्रोत अभाव हुने खतरा बढेर गएको छ । यसले वित्तीय क्षेत्रमा अर्को चुनौती थप्ने देखिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार अहिले वाणिज्य बैंकहरु करिब अढाई खर्ब कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छन् ।


क्लिकमान्डु