प्रिमियममा आईपीओ निष्काशन गर्दै ४ जीवन बिमा कम्पनी, कुनको कति ?



काठमाडौं । चार जीवन बिमा कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएका छन् । सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ, सन नेपाल र आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएका हुन् । कम्पनीहरुले आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई चैत मसान्तसम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । उक्त समयमा सबै कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि प्राधिकरणले समय थप गरिदिएको छ । असारसम्ममा जीवन बिमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । चार वटै जारी पुँजीको ४० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेका हुन् ।

आईपीओ निष्कासनपश्चात पनि यी कम्पनीहरुको नियामकले तोके बमोजिमको न्यूनतम पुँजी पुग्दैन । आईपीओ निष्कासनपछि कम्पनीहरुले हकप्रद सेयरमार्फत पुँजी पुर्याउने छन् ।

प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याएपछि यी कम्पनीहरुले संस्थापक सेयरधनीबाट थप रकम जम्मा गरेका थिए । आइएमई लाइफ र रिलायवल नेपाल लाइफले संस्थापक शेयरधनीहरुबाट शत प्रतिशत, सन् नेपाल लाइफले पनि संस्थापक शेयरधनीहरुलाई ६० प्रतिशत र सिटिजन लाइफले ५० प्रतिशत पुँजी थप गरेका थिए ।

आइएमई लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्यसहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । इन्स्योरेन्सले प्रति कित्ता २७६ रुपैयाँका दरले ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ।

सिटिजन लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियमसहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । इन्स्योरेन्सले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

रिलायवल नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा थप ११२ रुपैयाँ प्रिमियमसहित प्रति कित्ता २१२ रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको छ । इन्स्योरेन्सले प्रति कित्ता २१२ रुपैयाँका दरले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्नेछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्नेछ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा सेयर निष्काशन गर्न अनुमति माग गरेको छ । इन्स्योरेन्सले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बारबरको ९६ लाख कित्ता सेयर निष्काशन गर्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

यस्तै, प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । तर, इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति लिन बोर्डमा आवेदन भने दिएको छैन ।


क्लिकमान्डु