ठ‍ूला घर र गाडी हुनु मात्रै आर्थिक समृद्धि होइन, सबै क्षेत्र बैंक जस्तै पारदर्शी बन्नुपर्छ: सिबिफिन उपाध्यक्ष



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका उपाध्यक्ष राजेश उपाध्यायले ठ‍ूला घर र गाडी हुनु मात्रै आर्थिक समृद्धि नभएको बताएका छन् ।

सिविफिनले शुक्रबार गरेको कार्यक्रममा उनले जनता धनी भए पनि सरकार गरिब भएको भन्दै उनले चिन्ता व्यक्त गरे । सबै क्षेत्र बैंक जस्तो पारदर्शी हुन आवश्यक रहेको उनको भनाइ छ ।

अहिले सरकार चलाउन पनि ऋण लिनुपर्ने भएको भन्दै उनले यो चिन्ताको विषय भएको बताए । जनताले तिरेको करले खर्च धान्न नसक्ने अवस्था बन्नु राम्रो नभएको उनको भनाइ छ ।

‘विकासशील देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुनु मात्रै ठूलो कुरा होइन’ उनले भने, ‘अहिले सरकारको २० खर्ब ऋण छ, देश पूर्णरुपमा परनिर्भर भइरहेको छ ।’

सिविफिनले वैशाख २४ गते नेपाल बिजनेश समिट २०२३ आयोजना हुने जनाएको छ ।

तीनै तहका सरकारलाई उद्योग मैत्री बनाउन, लगानीलाई प्राथमिकतामा राखोस् भन्ने उद्देश्यले समिट गर्न लागेको उनले बताए ।
सम्मेलनमा कृषि, पर्यटन, उर्जा, निर्यातजन्य उद्योग, निजी क्षेत्रले भोगेका समस्याका बारेका छलफल हुने छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि यो कार्यक्रम सहयोगी हुने आयोजकको दाबी छ ।


क्लिकमान्डु