९७ करोड ७५ लाखको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक, ११% ब्याज पाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।
पाँच वर्ष समयावधि हुने ‘वैदेशिक रोजगार बचतपत्र, २०८५’ १७ गतेदेखि निष्कासन हुन लागेको हो । वैशाख १७ गतेदेखि जेठ २४ गतेसम्म बिक्री खुला हुने बैंकले जनाएको छ । २०८५ जेठ २४ गते उक्त बचतपत्रको सावाँ भुक्तानी गरिने छ ।
ब्याजदर ११ प्रतिशत रहेको छ ।
ब्याज ६-६ महिनामा पाइने छ । बचतपत्रमा घटीमा १० हजार रूपैयाँ र बढीमा १० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।
बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवसीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य-बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिने बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।
बैंककाअनुसार बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिन सकिने छ । इच्छुक खरिदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि बैंकको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
यस्तै, बैंकको वेबसाइट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने यस बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन दिन सकिने उल्लेख छ ।
आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र पाएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरूबाट ब्याज भुक्तानी लिन सकिने छ ।