पुरानाबाट निराश, नयाँसँग आशा र विश्वास



काठमाडौं । २०७९ साल मंसिर ४ गतेको निर्वाचनबाट धेरै नयाँ दल उदाए । राजनीतिक रंगमञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टी देशव्यापी रुपमा देखियो भने मधेस प्रदेशबाट जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले पुराना दलको किल्ला भत्काए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रुपमा नेपाली कांग्रेसले ८९ ठाउँमा जित्दा नेकपा एमालेले ७८ र माओवादी केन्द्रले ३२ ठाउँमा चित्त बुझाउनुपर्‍यो । असार ७ गते काठमाडौंको राष्ट्रिय सभाबाट घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच महिनामै २० सांसद पठाउने हैसियत बनायो । रास्वपा चौथो ठूलो दल बन्यो ।

त्यस्तै स्थानीय तह निर्वाचनका बेला उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ६ सिट जित्यो भने नागरिक उन्मुक्ति पार्टीले ३ सिट हात पार्‍यो ।

रास्वपासहित नयाँ तीन दललाई समेटेर नेकपा एमालेले नयाँ गठबन्धन बनायो र सरकारको नेतृत्व पुष्पकमल दाहाललाई सुम्पियो । तर, सरकार गठन भएको एक महिना बित्दै गर्दा नागरिकता मुद्दामा रास्वपा सभापति रवि लामिछानेको सांसद र मन्त्री पद खुस्कियो ।

त्यसबाट विचलित भएको रास्वपाले श्रम र शिक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्रीलाई पनि फिर्ता बोलायो । तर, सरकारलाई दिएको समर्थन कायमै राख्यो । मंसिर ४ को निर्वाचनको अन्तिम मतपरिणाम आइनसक्दै सुरु भएको धोकाधडीको खेल चरम चुलीमा पुग्दै थियो ।

अर्कोतर्फ छोटो अवधिमा नयाँ दलहरुले पाएको जनमत ठूला पार्टीले सहन गर्न सकेनन् । प्रतिनिधि सभामा यति बलियो गरी उदाएका पार्टीप्रति ठूला भनिएका दलहरुको टिप्पणी निकै रुखो रह्यो । कसैले ‘चटके’ त कसैले ‘खहरे’ उपनाम दिइरहेका थिए ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्त भएपछि तनहुँ १, रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ र सर्वोच्च अदालतको फैसलापछि सांसद पदबाट मुक्त भएका रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा वैशाख १० गतेका लागि निर्वाचन तोकियो । कांग्रेस-एमालेका नेताहरु वैशाख १० को उपचुनावले नयाँ दलको हैसियत देखाइदिन्छ भनेर बसिरहेका  थिए ।

यसको एउटा मुख्य कारण थियो-

रवि लामिछानेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर माघ २२ गते मन्त्री पद खोसिएको झ्वाँक पोख्नु । यसले जनतामा रविप्रतिको ‘क्रेज’ घटेको आकलन उनीहरुको थियो ।

तर, वैशाख १० को नतिजाले त्यस्तो देखाएन । पुराना दलहरु मिल्दा र पुरै राज्यशक्ति लागेर भिड्दा पनि चितवन २ र तनहुँ १ मा रास्वपाले जितेको छ । रविले मंसिरको चुनावमा भन्दा ५ हजार बढी मत ल्याएका छन् भने दोस्रो हुने कांग्रेस उम्मेदवारलाई ४२ हजार ९६२ मतान्तरले पछि पारेका छन् । मंसिर ४ मा घण्टीमा भोट नहालेर गलत गरेछु भन्ठान्नेहरुले वैशाख १० मा मौका पाएका छन् । कांग्रेस, एमाले दुवै दलका उम्मेदवारको भोट घट्नुले पनि यसलाई पुष्टि गरेको छ ।

तनहुँ १ र चितवन २ दुवै ठाउँबाट एमाले र कांग्रेस बडारिएका छन् । दुवै ठाउँ रास्वपाको पोल्टामा गएको छ । यसले सार्वजनिक स्थलमा नीति र सिद्धान्तबिनाको दलले चटक गरिरहेको आरोप लगाउनेहरुको बोली बन्द गराएको छ । जनतालाई कुनै अमुक पार्टीको नीति र सिद्धान्तभन्दा पनि विकास चाहिएको छ भन्ने स्पष्ट गरेको छ ।

त्यही भएर ‘हामी विकास गर्छौं’ भन्नेहरुलाई जनताले निःसर्त पत्याएर भोट दिइरहेका छन् । कांग्रेस-एमालेका कार्यकर्ताले पनि घण्टीमा भोट दिएका छन् । उनीहरुले रास्वपाले आग्रह गरेअनुसार नै मन होइन, मत बदलेका छन् ।

रवि लामिछानेको क्रेज घट्ने अपेक्षाविपरीत घण्टीमा अचम्मसँग भोट आएपछि ठूला दल आत्तिएका छन् । संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘ठूला पार्टीप्रति जनताले चासो नदेखाएको’ बताए । त्यस्तै रवि लामिछानेलाई बधाई दिने क्रममा चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठले भने, ‘कांग्रेस कि सच्चिनुपर्छ कि सक्किनुपर्छ ।’ यसको अन्तर्य प्रस्ट छ ।

रवि लामिछानेलाई दिएको मत आशा र निराशा दुवैको मत हो । कतिपयमा ‘रविले गर्छन्’ भन्ने आशा छ त कतिपयमा ‘पुराना दलले गरेनन्’ भन्ने निराशा छ । त्यसैको बीचमा उभिएर रविले आफूलाई अब्बल सावित गरिदिएका छन् । तर, जनताले दिएको एक-एक भोटको सम्मान भएन भने अर्को चुनावमा रास्वपा, जनमत र नागरिक उन्मुक्ति जस्ता पार्टीहरु ठूला भनिएका दलहरुले टिप्पणी गरेजस्तै ‘खहरे’ बन्ने निश्चित छ ।


डीआर आचार्य