बैंकको ब्याजदर घट्दा निक्षेप घट्यो, कर्जा प्रवाह पनि नकारात्मक



काठमाडौं । बैंकको ब्याजदर घट्दा अल्पकालमा नकारात्मक नतिजा आएको छ । नेपाल बैंकर्स एसोसिएसनले चैतर्फी दबाबपछि वैशाखदेखि लागू हुनेगरी निक्षेपमा ब्याजदर घटाएपछि कर्जा प्रवाहसँगै निक्षेप पनि निरुत्साहित भएको हो ।

वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ११ प्रतिशतबाट घटाएर ९.९९ प्रतिशत कायम गरिएको छ । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारिएको छ ।

बैंकर्स संघले कल डिपोजिटको ब्याजदर पनि २.७ प्रतिशतमा झारेको छ । घटेको ब्याजदर नयाँ ऋणीले तत्काल पाउँछन् भने पुराना ऋणीको हकमा साउनमा पुनरवलोकन हुनेछ ।

निक्षेपमा ब्याजदर घटाएपछि बचत निरुत्साहित भएको राष्ट्र बैंकले जनाएको छ । वैशाख १ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा ९ गते ५४ खर्ब ५३ अर्बमा झरेको छ । कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको हो ।

त्यस्तै वाणिज्य बैंकको मात्रै निक्षेप पनि सात दिनको अवधिमा १६ अर्बले घटेको छ । वैशाख १ गते ४८ खर्ब २४ अर्ब रहेको कुल निक्षेप वैशाख ९ गते ४८ खर्ब ८ अर्बमा झरेको हो । ब्याजदर कम पाइने भएपछि बचत राख्न सर्वसाधारण र ठूला लगानीकर्तासमेत निरुत्साहित भएका हुन् ।

तर, ब्याजदर घटेपछि कर्जा प्रवाह बढ्ने अपेक्षाबीच समीक्षा अवधिमा कर्जा प्रवाह नकारात्मक बनेको छ । कुल कर्जा प्रवाह ४८ खर्ब ५१ अर्बबाट घटेर ४८ खर्ब ४४ अर्बमा झरेको छ । कुल कर्जा प्रवाह ७ अर्बले ऋणात्मक बनेको हो ।

वाणिज्य बैंकको कर्जा प्रवाह पनि घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । वैशाख १ गते ४३ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकको कर्जा प्रवाह वैशाख ९ सम्म आइपुग्दा ४२ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) बढेको छ । सीडी रेसियो ८५.१६ प्रतिशतबाट बढेर ८५.३८ प्रतिशतमा पुगेको हो ।


क्लिकमान्डु