१० फाइनान्स कम्पनीको नाफा घट्यो, दुई वटा नोक्सानीमा, खराब कर्जा बढ्यो



काठमाडौं । सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीमध्ये १० वटाको नाफा घटेको छ । दुई वटाको नाफा बढेको छ भने दुई वटा नोक्सानीमा छन् ।

कम्पनीहरुले प्रकाशित गरेको ०७९ चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार गोखार्ज फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकको नाफा घटेको हो ।

सबैभन्दा धेरै प्रतिशतले नाफा रिलायन्स फाइनान्सको घटेको छ । गत आवको सोही अवधिको तुलनामा रिलायन्सको नाफा ८७.८८ प्रतिशतले घटेर ४६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको हो । गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा फाइनान्सले ३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको सोही अवधिको तुलनामा बेस्ट फाइनान्सको नाफा ८४.९२ प्रतिशतले घटेर २ करोड ३० लाख रुपैयाँमा झरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५क रोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गुडविल फाइनान्सको नाफा ८१.९६ प्रतिशतले घटेर १ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत आवको यसै अवधिमा ११ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको सोही अवधिमा ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको गुहेश्वरीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४८ लाख १८ हजार रुपैयाँमात्रै नाफा कमाएको छ । फाइनान्सको नाफा ७९.२७ प्रतिशतले घटेको हो ।

यस्तै, श्री इन्भेष्टमेन्टको नाफा ३६.९० प्रतिशतले घटेर ४ करोड ४८ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सको ३२.३० प्रतिशतले घटेर ८ करोड ३९ लाख रुपैयाँ, पोखरा फाइनान्सको २५.७७ प्रतिशतले घटेर ३ करोड ५७ लाख रुपैयाँ र गोखार्ज फाइनान्सको नाफा ३.५५ प्रतिशतले घटेर ९ करोड १५ लाख रुपैयाँमा झरेको छ ।

गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा श्री इन्भेष्टमेन्टले ७ करोड १० लाख, आइसीएफसी फाइनान्सले १२ करोड ३९ लाख रुपैयाँ, पोखरा फाइनान्सले ४ करोड ८२ लाख रुपैयाँ र गोखार्ज फाइनान्सले ९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

मञ्जुश्रीले कमायो १७ करोड

चैत मसान्तसम्मको अवधिमा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै १७ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा फाइनान्सको नाफा ५१.९१ प्रतिशतले बढेको हो । गत आवको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

मल्टीपर्पज फाइनान्सले ९५८.३८ प्रतिशतले नाफा बढाएर ५३ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा ५ लाख रुपैयाँ थियो ।
गोर्खाज फाइनान्सले ९ करोड १५ लाख, आइसिएफसि फाइनान्सले ८ करोड ३९ लाख र श्री इन्भेष्टमेन्ट फाइनान्स ४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

समृद्धि र प्रोग्रेसिभ घाटामा

समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्स भने घाटामा छन् । समृद्धि फाइनान्स धेरै १३ करोड ३४ लाख रुपैयाँले र प्रोग्रेशिभ फाइनान्स ७ करोड ५१ लाख रुपैयाँले घाटामा गएको हो । समृद्धिले गत आवको चैत मसान्तसम्ममा २८ लाख २८ हजार रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सले १ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए ।

अधिकांशको खराब कर्जा बढ्यो

यस अवधिमा अधिकांश फाइनान्सको खराब कर्जा बढेको छ । १४ मध्ये ७ फाइनानसको खराब कर्जा बढेको हो ।

जानकी फाइनान्सको खराब कर्जा २३.६० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ४.८० प्रतिशत थियो ।

यस्तै, समृद्धि फाइनान्सको खराब कर्जा ३.५९ प्रतिशतबाट बढेर १३.४९ प्रतिशत पुगेको छ ।

मल्टिपर्पस फाइनान्सको खराब कर्जा सबैभन्दा कम १.१३ प्रतिशत रहेको छ । यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.२६ प्रतिशत, आइसिएफसि फाइनान्सको २.६४ प्रतिशत र मञ्जुश्री फाइनान्सको ३.३६ प्रतिशत छ ।

पोखरा फाइनान्सको खराब कर्जा ४.७६ प्रतिशत, गुडविल फाइनान्सको ४.७१ प्रतिशत, गुहेश्वरीको ४.३८ प्रतिशत, रिलायन्सको ४.२६ प्रतिशत र प्रोग्रेसिभको ४.९५ प्रतिशत छ । गत आवको तुलनमा यी फाइनान्स कम्पनीहरुको खराब कर्जा बढेको हो ।

यस्तै, गोखार्ज फाइनान्सको खराब कर्जा ८.४५ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत र नेपाल फाइनान्सको १५.७४ प्रतिशतबाट घटेर १३.१६ प्रतिशतमा झरेको छ ।


क्लिकमान्डु