बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौति थपियोः बैंकर सन्तोष कोइराला



काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताएका छन् ।

गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उपाध्यक्ष कोईरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताए । उनले मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब रुपैयाँ बढीको कर्जा प्रवाह र २० अर्ब रुपैयाँको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको बताए ।

उपाध्यक्ष कोईरालाले पछिल्लो समय बैंकहरुको निस्कृय कर्जाको ब्याजदरसमेत बढ्दै गएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रबिरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौति बढेको भन्दै सरकारले तत्काल बैंक बिरुद्धको अराजक आन्दोलन रोक्न माग गरे ।

उनले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गरे । उनले पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पारे । उनले समग्र विश्व बैंकिङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको बताए । उनले पछिल्लो आर्थिक वर्षमा नेपालका बैंकहरुले ११ प्रतिशत नाफा रहेको भन्दै अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम रहेको दाबी गरे ।

उनले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथभन्दा बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको बताए । उनले भारतमा जिडिपी र कर्जा बिस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताए । उपाध्यक्ष कोईरालाले अहिले बैंकिङ उद्योगमा ५४ खर्ब ४७ अर्ब निक्षेप संकलन र ४८ खर्ब ४४ अर्ब कर्जा प्रवाह भइरहेको बताए ।

उनले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत) ले कर्जा बढेको बताए । उनले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताए ।

उपाध्यक्ष कोईरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताए । उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्नभन्दा पनि बैंकबिरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको बताए । उनले बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनको लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरी बैंकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको आरोप लगाए ।

कोइरालाको भनाइ जस्ताको त्यस्तै

पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर जसरी आम रुपमा चित्रण गरिएको छ । वास्तविकता त्यस्तो प्रकारको छैन । विश्व बैंकिङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो । ५० प्रतिशत बैंकहरुले लागतभन्दा पनि कम नाफा गरिरहेका छन् । नेपालका बैंकहरुले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत नाफा रहेको अवस्था थियो । अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम हो । पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपीको भन्दा पनि बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको देखिन्छ । अन्य सार्क देशको कर्जाको बिस्तार हेर्दा नेपालमा ५ वर्षमा कर्जा लगानीको बिस्तार जिडिपी आकारभन्दा बढी भएको देखिन्छ । भारतमा जिडिपी र कर्जा बिस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा देखिन्छ । त्यही कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको हो । अहिले बैंकिङ उद्योगमा ५४ खर्ब ४७ निक्षेप संकलन ४८ खर्ब ४४ अर्ब कर्जा प्रवाह भइरहेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप बढेको छ भने १४७ अर्ब (३.३० प्रतिशत) बढेको देखिन्छ । पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको थियो । बैंकको वित्तीय तथ्याङ्कमा धेरै बैंकहरुको निस्कृय कर्जाको ब्याजदर बढेको छ । गएको असर महिनामा १.२ प्रतिशत बैंकहरुको खराब कर्जा (एनपीए) अहिले ३.००८ प्रतिशतमा पुगेको देखिन्छ । ५ वटा बैंकको नाफा नै ऋणात्मक छ । यस्ता तथ्याङ्कहरुले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु पार गर्नुपर्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ देखि ३० प्रतिशत नाफा घट्ने देखिन्छ भने ८ देखि १० अर्बको हाराहारीमा कर कम हुने देखिन्छ । उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्नभन्दा पनि बैंकबिरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिँदै गएका छन् । बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनको लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरिनुका साथै बैकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको छ । यसमा सरकार समयमा नै सजक हुनुपर्ने र यस्ता अराजक आन्दोलन तत्काल बन्द हुनुपर्ने हाम्रो माग छ ।


क्लिकमान्डु