सरकार र राष्ट्र बैंक आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक: ढकाल



नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले समस्या समाधानका लागि सरकार र राष्ट्र बैंक गम्भीर रहेको आफूले पाएको बताए ।

‘मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरु उल्लेख गरेको थिए । त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ’ उनले भने, ‘यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेका छौं । आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ । हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं । अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ । यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ ।’

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रको सम्भावना रहेको बताए ।

उनले सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए । ‘तपाईहरुले यहाँका सम्भावित परियोजनाहरु छनौट गर्नुहोस् । यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ । म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,’ उनले भने ।

उनले नुवाकोट उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।


क्लिकमान्डु