सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको सहयोगार्थ ५ लाख १२ हजार ५ सय रूपैयाँ प्रदान गरेको छ ।
बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई रकम हस्तान्तरण गरेका छन् ।
बैंकबाट प्राप्त उक्त सहयोग रकम अस्पतालले काभ्रे, धादिङ, नुवाकोट र रसुवाका दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्नेछ । सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नसकिरहेका बिरामीको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई सधैं उच्च प्राथमिकतामा राख्ने बैंकले जनाएको छ ।