नेपाल बैंकको विशेष जगेडा कोषको रकम सञ्चित मुनाफामा
काठमाडौं । नेपाल बैंकले राष्ट्र बैंकले जारी गरेको निर्देशनको अवज्ञा गरेको छ । राष्ट्र बैंकले नेपाल बैंकको विशेष जगेडा कोषबाट सञ्चित मुनाफामा सारेको पैसा पुनः जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएकोमा बैंकले २०७८/७९ सम्म उक्त रकमलाई विशेष जगेडा कोषमा नदेखाई सञ्चित मुनाफा नै देखाएको छ ।
महालेखापरीक्षाको ६० औं प्रतिवेदनमा उक्त रकम राष्ट्र बैंकको निर्देशनको पालना गर्दै विशेष जगेडा कोषमा देखाउनुपर्ने उल्लेख छ ।
‘नेपाल राष्ट्र बैंकले नेपाल बैंकको आव २०७६/७७ को साधारण सभा सञ्चालन गर्न स्वीकृति दिँदा २०७३/७४ मा विशेष जगेडा कोषबाट सञ्चित मुनाफामा सारेको १ अर्ब १९ करोड पुनः जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएकोमा बैंकले आव २०७८/७९ सम्म उक्त रकमलाई विशेष जगेडा कोषमा नदेखाई सञ्चित मुनाफामै देखाएको छ । राष्ट्र बैंकको निर्देशनको पालना गर्नुपर्दछ’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै नेपाल बैंकको एक शाखाले अर्को शाखाबाट शोधभर्ना गर्ने गरी रकम भुक्तानी गरेकोमा भुक्तानीको विवरण सम्बन्धित शाखामा नपठाएकोले अन्तर कार्यालय हिसाबमा फरक परेको देखिएको छ ।
गत वर्षसम्म यस्तो हिसाब मिलान गर्न १ अर्ब ५५ करोड ६८ लाख बाँकी रहेकोमा यो वर्ष १४ अर्ब १ करोड ८० लाख दिनुपर्ने (डेबिट) र १२ अर्ब ५५ करोड १ लाख लिनुपर्ने (क्रेडिट) भई १ अर्ब ४६ करोड ७८ लाख मिलान हुन बाँकी रहेको देखिएको छ ।
यस्तै सरकारी कारोबार बापत बैंकले २०७९ असार मसान्तमा १ अर्ब ७३ करोड तथा त्रिभुवन विश्वविद्यालयको पेन्सन बापत २१ करोड २७ लाख लामो समयदेखि लिनुपर्ने देखिएकोमा सोको कन्फर्मेशन प्राप्त गरेको नदेखिएको उल्लेख छ । उक्त प्राप्त हिसाब सम्बन्धमा यकिन गरी समयमा फरफारक गर्न महालेखाले भनेको छ ।