रेमिट्यान्स आप्रवाह मासिक ९९ अर्ब, गत वर्षको भन्दा २५ प्रतिशत धेरै



काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा करिब ८ खर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ८ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो ।

माघसम्मको तुलनामा यो रकम १५ प्रतिशत बढी हो । चालू आवको माघसम्ममा ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । फागुनमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स आएको छ । माघमा पनि १ खर्ब ४ अर्ब रुपैयाँ नै रेमिट्यान्स भित्रिएको थियो ।

यो वर्षको ८ महिनामा औसतमा ९९ अर्ब मासिक रेमिट्यान्स आएको छ । गत वर्ष औसतमा मासिक ८४ अर्ब रेमिट्यान्स आएको थियो । २०७७/७८ मा औसतमा मासिक ८० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले बढेर ३ लाख ५१ हजार ७६१ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भएर १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४१ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु