महँगी घट्यो: राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुनमा महँगी घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो ।
माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो । गत वर्षको फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको फागुनसम्ममा गत वर्षको फागुनमा भन्दा महँगी ७.९३ प्रतिशत विन्दुले बढेको राष्ट्र बैंकले जनाएको छ ।
फागुनसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.६४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत छ ।
फागुसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यका, तराई र हिमालमा मुद्रास्फीति बढेको छ भने पहाडमा घटेको छ ।
फागुनमा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति छ ।
२०७८ फागुनमा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति थियो ।