सरोज गुरागाईंले सानिमा बैंक छाडे, देशकै ठूलो भेञ्चर क्यापिटल कम्पनीको सीइओ बन्दै



काठमाडौं । सानिमा बैंकका चिफ डिपोजिट अफिसर (एसिस्टेन्ट सीइओ) सरोज गुरागाईंले पदबाट राजीनामा दिएका छन् । यही चैत मसान्तदेखि लागू हुने गरी गुरागाईंले बिहिबार (आज) व्यवस्थापनसमक्ष राजीनामा पेश गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट करियर शुरु गरेर दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय गुरागाईंले भारतबाट चार्टर्ड एकाउन्टेन्टसी र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

वित्तीय क्षेत्रको विश्लेषणमा उनी अब्बल मानिन्छन् । सरल स्वाभावका गुरागाईं विषयवस्तुमा राम्रो दख्खल राख्ने बैंकरका रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

‘२० वर्ष सक्रिय बैंकिङमा बिताइसकेको छु, इक्वीटी फण्ड र भेञ्चर क्यापिटलको क्षेत्रमा केही गर्ने सोचका साथ पदबाट राजीनामा दिएको हुँ,’ गुरागाईंले क्लिकमान्डुसँग भने, ‘यो क्षेत्रमा ठूलो संभावना देखेको छु ।’

बैशाख १ गतेदेखि उनी देशकै सबैभन्दा ठूलो प्राइभेट इक्वीटी फण्ड नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर काम गर्नेछन् । उक्त कम्पनीले बुधबार (हिँजो) मात्रै नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा कर्मचारी सञ्चय कोष, हिमालयन बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक र नेपाल टेलिकमको ७० प्रतिशतभन्दा बढी लगानी छ ।

अधिकृत पुँजी १ अर्ब रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ । सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडेलमा स्थापना गरिएको उक्त कम्पनीमा व्यक्तितर्फको सेयरधनी गैरआवासीय नेपाली जीवा लामिछानेको लगानी रहेको छ ।


क्लिकमान्डु