ट्रम्पलाई १ करोड ६० लाख तिर्न पोर्न स्टार डेनियल्सलाई अदालतको आदेश



एजेन्सी । एडल्ट फिल्म अभिनेत्री स्टार्मी डेनियल्सलाई अमेरिकी अदालतले १ करोड ६० लाख (१ लाख २२ हजार अमेरिकी डलर) जरिवाना गरेको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता गराएको मानहानीको मुद्दामा डेनियल्सले भनेका आरोपहरु पुष्टि नभएका कारण उनलाई अदालतले यो रकम तिर्न आदेश दिएको हो ।

ट्रम्पको कानुनी खर्चको भुक्तान स्वरुप डेनियल्सलाई यो रकम तिर्न अदालतले आदेश दिएको बीबीसीले जनाएको छ । मंगलबार भएको सुनुवाइमा अमेरिकाको लस एञ्जल्सको अदालतले डेनियल्सको विपक्षमा फैसला सुनाएको हो ।

सन् २०१८ मा ट्रम्पविरुद्ध अदालतमा डेनियल्सले मुद्दा दर्ता गराएकी थिइन् । डेनियल्सले एक व्यक्तिले आफूलाई ट्रम्पको पछि नलाग्न भन्दै धम्की दिएको र त्यसो गरेमा उनको र उनको सन्तानको ज्यानलाई खतरा हुने चेतावनी दिएको बताएकी थिइन् । तर, ट्रम्पले भने यो कुरा पूर्ण रुपमा कलोकल्पित भएको बताएका थिए । यसपछि डेनियल्सले ट्रम्पविरुद्ध अदालतमा मानहानीको मुद्दा दर्ता गराएकी थिइन् ।

डेनियल्सले पछि आफ्ना वकिलले आफूसँग कुरा नै नगरि आफैंले यो मुद्दा दर्ता गराएको पनि भनेकी थिइन् । उनका वकिल माइकल एवेनातीले उनको सहमति बिना नै मुद्दा दर्ता गराएको डेनियल्सको जिकिर थियो । हाल एवेनाती चोरीको आरोपमा जेलमा छन् ।

यसअघि सन् २०२२ मार्चमा पनि यहि मुद्दामा डेनियल्सलाई ट्रम्पको कानूनी खर्चको रुपमा ३ लाख अमेरिकी डलर भुक्तान गर्नुपर्ने आदेश दिइएको थियो ।

२०१६ को राष्ट्रपति पदको चुनाव प्रचारका क्रममा पोर्न स्टार डेनियल्सलाई चुप राख्नका लागि पैसा दिएको आरोपमा ट्रम्पविरुद्ध मुद्दा चलेको थियो ।


क्लिकमान्डु