भन्सार नाकामा कडाइ गर्न अर्थ र गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार नाकामा कडाइ गर्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा मन्त्रीद्वयले सीमा नाकामा कडाइ गर्न सुरक्षा निकाय र भन्सार प्रशासनका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

भन्सार छलीका घटना बढेको भन्दै उद्योगी व्यवसायीले उजुरी गरेपछि अर्थमन्त्री महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका थिए ।

बैठकले भन्सार नाकाको चुहावट नियन्त्रण गर्ने, भन्सारभन्दा बाहिरको चुहावट नियन्त्रणका लागि सीमा नाकामा गस्ती बढाउने र आन्तरिक राजस्वको चुहावट नियन्त्रण गर्न बजार अनुगमनमा जोड दिने निर्णय गरेको छ ।

बैठकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश शाक्यले प्रस्तुति दिँदै चोरी निकासी बढ्दा राजस्व चुहावट बढेको हुन सक्ने बताएका थिए । बैठकमा अन्तर निकाय समन्वय बढाउँदै गतिविधि रोक्ने निर्णय भएको छ ।

बैठकमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले प्रस्तुति दिएका थिए । यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले अवैध गतिविधि रोक्न सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा अर्थ सचीव तोयम राय, राजस्व सचीव रामप्रसाद घिमिरे र गृह सचिव विनोद सिहंले सीमा नाकामा कडाइ गर्न अर्थ र गृह प्रशासनको समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु