खाद्यान्न अचाक्ली महँगी, कोरोनायता कुन वस्तुमा कतिले बढ्यो मूल्य ?



काठमाडौं । बजारमा खाद्यान्नको मूल्य अचाक्ली बढेको छ । कोरोनालगायतका कारणले बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको हो ।

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको ४ वर्ष बितिसकेको छ । तर, त्यसको प्रत्यक्ष असर भने हालसम्म पनि कायम छ । कोरोना महामारीले विश्वव्यापी नै महँगी बढाएको छ ।

कोभिडसँगै पछिल्ला एक वर्षमा रुस-युक्रेनको द्वन्द्वले उपभोक्ता झनै मर्कामा परेका छन् । विश्वव्यापीरुपमा महँगी बढ्दा ४ वर्षमा अधिकांश उपभोग्य वस्तुको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म बढेको छ ।

कोरोना अघिसम्म अधिकांश खाद्यान्नको मूल्य सामान्य थियो । तर, कोरोना महामारीले माग र आपूर्तिमा समस्या आउँदा अधिकांश वस्तुको मूल्य अचाक्ली बढेको व्यवसायी बताउँछन् ।

कोरोनाअघिको तुलनामा यो वर्षको तथ्यांक हेर्ने हो भने अधिकांश वस्तुको मूल्य अचाक्ली बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार चामल, दाल, तेल, गेडागुडी तथा मसलाको मूल्य अत्यधिक बढेको छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले कोरोनाअघिको तुलनामा खाद्यान्नको मूल्य दोब्बरले बढेको बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष तेलको मूल्य केही कम भए पनि अन्य खाद्य वस्तुको मूल्य भने दिनप्रतिदिन बढिरहेको छ ।

बजारमा अहिले अप्रत्याशित रुपमा बढेको मुख्य खाद्यान्नमध्ये चामल पनि एक हो । कोरोना अघिसम्म प्रतिबोरा १५ सयदेखि १७ सय रुपैयाँसम्म रहेको चामलको मूल्य अहिले २२ सयदेखि २६ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा २०७६ को चैतमा त्रिशूली पोखरेली चामलको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेकोमा अहिले बढेर १०५ रुपैयाँ पुगेको छ । त्यस्तै, चैत २०७६ मा स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ७० रुपैयाँ, लङग्रेन बासमती चामलको १३५ रुपैयाँ र स्टिम सोना चामलको ६० रुपैयाँमा उपभोक्ताले किन्न पाउँथे । ती चामलको मूल्य क्रमशः प्रतिकिलो ९० रुपैयाँ, १७० रुपैयाँ र ६५ रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि उपभोक्ता मुद्रास्फीति उच्च रहेको देखाउँछ । २०७६ फागुनमा उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत थियो । २०७५ फागुनमा उपभोक्ता मुद्रास्फीति ४.२० प्रतिशत थियो । २०७६ को फागुनमा  खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.३३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत थियो ।

तर, चालू आर्थिक वर्षको माघमा मुद्रास्फीति ७.८८ प्रतिशत पुगेको छ । जसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ ।

तेलको मूल्य ६० प्रतिशतले वृद्धि

भान्सामा नभई नहुने अत्यावश्यक वस्तु तेलको मूल्य कोरोनाअघिको तुलनामा ६० प्रतिशतले वृद्धि भएको छ । कोरोना अघिसम्म भटमासको तेलको मूल्य प्रतिलिटर १५० रुपैयाँमा थियो । अहिले सोही तेलको मूल्य २२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कोराना अघि सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६० रुपैयाँ रहेकोमा अहिले २३५ रुपैयाँ, काँचो तोरीको तेल १७० रुपैयाँ रहेकोमा अहिले ३५० रुपैयाँ, भुटेको काँचो तोरीको तेल २७० रहेकोमा अहिले ४ सय रुपैयाँ र १४० रुपैयाँ रहेको डाल्डा घ्यू अहिले २१५ रुपैयाँ पुगेको संघले जनाएको छ ।

दालको मूल्यमा पनि अचाक्ली वृद्धि

चामल र तेलसँगै दालको मूल्य पनि उच्च बढेको छ । उपभोक्ताले २०७६ चैतमा प्रतिकिलो १६० रुपैयाँमा मास दाल खरिद गर्न सक्थे भने अहिले बढेर १९० पुगेको छ ।

त्यस्तै, २०७६ को चैतमा मुङ खोस्टाको प्रतिकिलो १५० रुपैयाँ थियो भने अहिले १७० रुपैयाँ छ । १५० रुपैयाँको मुङ खोस्टा अहिले १७० रुपैयाँ पुगेको छ । १३० रुपैयाँको मसुरो दाल १७० रुपैयाँ, १६० रुपैयाँ रहेको मुङ गेडा १६० रुपैयाँ र १९० रुपैयाँ रहेको मुङ छाटा नम्बर १ को मूल्य २१० रुपैयाँ छ ।

कोरोनाअघि प्रतिकिलो १६० रुपैयाँ रहेको मास छाटा अहिले १८० रुपैयाँ र १५० रुपैयाँ रहेको नेपाली रहर दाल अहिले २१० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

भटमासको मूल्य शतप्रतिशतसम्म बढ्यो

गेडागुडीमध्ये सबैभन्दा बढी भटमासको मूल्यवृद्धि भएको छ । तथ्यांकअनुसार भटमासको मूल्य ८६ प्रतिशतसम्म बढेको छ । उपभोक्ताले २०७६ चैतमा कालो भटमास प्रतिकिलो १५० रुपैयाँमा खरिद गर्न सक्थे । तर, अहिले २८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कोरोनाअघि सेतो भटमासको मूल्य प्रतिकिलो १ सय रुपैयाँ थियो भने अहिले १६० रुपैयाँ पुगेको छ । २०७६ चैतमा १० रुपैयाँ रहेको कैलो भटमासको मूल्य अहिले १७५ रुपैयाँ पुगेको छ । अन्य गेडागुडीको मूल्य पनि उच्च रुपमा बढेको छ । सेतो केराउको मूल्य पनि शतप्रतिशत बढेको छ ।

खाद्यान्न मात्रै नभएर बजारमा पाइने अधिकांश पिठो तथा मैदाको मूल्य पनि धेरै नै बढेको छ । मकैको पिठो, कोदोको पिठो, चामलको पिठो, मैदालगायत सुजीको मूल्य पनि बढेको छ । बजारमा सबैभन्दा बढी खपत हुने मैदा र आँटाको मूल्यमा उच्च वृद्धि भएको छ ।

जिरा प्रतिकिलो ३ सय रुपैयाँले बढ्यो

खाद्यान्नसँगै मसलाको मूल्यमा पनि उच्च वृद्धि भएको संघले जनाएको छ । भान्सामा बढी प्रयोग हुने जिराको मूल्य कोरोनाअघिको तुलनामा अहिले प्रतिकिलो ३ सय रुपैयाँले बढेको छ । २०७६ को चैतमा जिराको मूल्य प्रतिकिलो ४ सय रुपैयाँ रहेमो अहिले ७ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, २०७६ को चैतमा प्रतिकिलो धनियाँको मूल्य २ सय रुपैयाँ रहेकोमा अहिले ३१० र १४० रुपैयाँ रहेको मेथी अहिले १८० रुपैयाँमा किनबेच भइरहेको छ । ज्वानोको मूल्य भने यथावत् ४ सय रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।


अरिष्मा मोक्तान