लाँकुरी भञ्ज्याङमा १ अर्ब रुपैयाँमा बनेको टेरेस रिसोर्ट सञ्चालनमा



काठमाडौं । पर्यटकका लागि लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ ।

भक्तपुर र ललितपुरको संगम काठमाडौं उपत्यकाको रमणीय स्थल लाँकुरी भञ्ज्याङमा आन्तरिक तथा वाह्य पर्यटकको लागि पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले दि टेरेस नामक रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएका हुन् ।

रिसोर्ट सञ्चालनमा आएसँगै पर्यटकीय तथा रमणीय स्थल लाँकुरी भञ्ज्याङ आन्तरिक तथा वाह्य पर्यटकको लागि सहज बन्नेछ । नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा हिमालयको दृश्यावलोकन रिसोर्टको शयन कक्षबाटै देख्न सकिन्छ ।

रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृंखलाका मनमोहक दृश्य देख्न सकिन्छ । जसमा लाङटाङ हिमाल, जुगल,गौरीशंकर हिमाल समेतको दृश्यावलोकन गर्न सकिनेछ ।

होटलका सञ्चालक पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ३८ वर्षअघि नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा रिसोर्ट बनाउने सोचसहित जग्गा खरिद गरेको र सोही अनुसार आज आएर सोचलाई वास्तविकतामा परिणत गरेको बताए । उनले ३८ वर्षअघि सामान्य खेतीपाती गर्ने जग्गा किनेर पर्यटकीय स्थल बनाउने सोच अहिले आएर पूरा भएको बताए ।

त्यस्तै, रिसोर्टका प्रवन्ध निर्देशक तेन्जिङ डेभिड शेर्पाले रिसोर्टमा अहिलेसम्म करिव १ अर्ब रुपैयाँ लागत लागेको बताए । उनले बुबाले ३८ वर्षअघि गरेको लगानी जोड्दा त्यसको मूल्य धेरै हुने बताए ।

रिसोर्ट निर्माण कार्य सन् २०१४ मा शुरुवात गरे पनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीको कारण ७ वर्ष निर्माण कार्यमा लागेको उनको भनाइ छ ।

उनले होटल संघ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यतामा राख्नका लागि लभिङ गरिरहेको बताए । जंगलको सिरानमा निजी हेलिप्याड पनि निर्माण गरिएको छ । रिसोर्टमा ट्राभल कम्पनीहरुले व्यवस्था गरेमा हेलिकोप्टरमार्फत रिसोर्ट ल्याउन र लैजान सकिने गरी हेलिप्याडको निर्माण गरिएको छ ।

४० रोपनी जमिनमा फैलिएको यो रिसोर्टमा दुई सुईट रुम छन् । लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजीसहितको यी कोठाहरु विलासी पर्यटक लक्षित छन् । सम्पन्न पर्यटकहरुलाई नै लक्षित गरेर १६ वटा डिलक्स रुमको व्यवस्था छ । त्यस्तै गरी मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टाण्डर्ड रुमको व्यवस्था छ । यस्ता रुम २८ वटा छन् ।

रिसोर्ट वरिपरिको वन जंगल मासिन नपाओस् भनेर ८०० रोपनी जंगल लिजमा समेत दिएको छ । तारबार गरी संरक्षण समेत गरिएको यो जंगल प्रकृतिप्रेमी पर्यटकका लागि वरदान हुने रिसोर्टले बताएको छ । रिसोर्टमा स्वस्थ र स्वच्छ हावाको प्रत्याभुतिको माध्यम पनि जंगल बन्ने देखिन्छ ।

जंगलमा रुख बिरुवालाई असर नपर्ने गरी तरकारी र जडिबुटी खेती गर्ने योजना रहेको रिसोर्टले बताएको छ । रिसोर्टमा खुला स्वीमिङ पुल र ज्याकुजी पनि छ ।

पाहुनाहरुको मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन् । योगा,स्पा र जिमका अलग अलग कक्षहरु छन् । यहाँ नेपाली,भारतीय,कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरु पाइन्छ । सभा,सम्मेलन र सेमिनारसहित विभिन्न पार्टी गर्ने सुविधाका लागि २ सय जना सहभागी बन्नसक्ने सुविधा सम्पन्न कन्फरेन्स हलको निर्माण समेत गरिएको छ ।


क्लिकमान्डु