मोदीको मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय



एजेन्सी । भारतको गुजरातस्थित सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई मानहानीसँग सम्बन्धित एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो घटना ‘मोदी थर’माथि उनको टिप्पणीसँग सम्बन्धित छ ।

फैसलाको समयमा गान्धी पनि अदालतमा उपस्थित थिए । गान्धीले भाषणका क्रममा सन् २०१९ मा ‘कसरी सबै चोरहरुको थर मोदी हुन्छ?’भन्दै प्रश्न गरेका थिए ।

उनको भाषणपछि प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीका सांसद् र गुजरातका पूर्व मन्त्री पुर्णेश मोदी राहुलविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए ।

वायनाडका सांसद राहुल गान्धीले लोकसभा चुनावका क्रममा कर्नाटकको कोलारमा यस्तो भाषण गरेका थिए ।

राहुलका वकील किरिट पानवालालाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले बताए अनुसार चिफ ज्यूडिशियल मैजिस्ट्रेट (सीजेएम) एचएच वर्माले गत हप्ता दुवै पक्षको दाबी सुनेका थिए र आज फैसला सुनाउने मिति तोकेका थिए । तर, अदालतले फेसला सुनाएपछि उनलाई जमानत दिएको छ । अदालतले राहुललाई पुनरावेदनका लागि ३० दिनको समय दिएको छ ।

फैसलापछि राहुलले प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले महात्मा गान्धीको एक भनाइ लेखेका छन् ।

राहुलले लेखेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, अहिंसा त्यसलाई पाउने साधन ।
-महात्मा गान्धी ।’


क्लिकमान्डु