बैंकको ब्याज घटाउन राप्रपा अध्यक्ष लिङ्देनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन सम्भव रहेको भन्दै त्यसतर्फ काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा मंगलबार जाँदै गरेका प्रधानमन्त्रीको अगाडि युवाले नाराबाजी गरे थिए ।
प्रधानमन्त्रीविरुद्ध र बैंकको ब्याज घटाउन माग गर्दै नाराबाजी गरेका उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनिदिएको थियो । जसको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
‘हामीले गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं, धर्मनिरपेक्षता ल्यायौं र त सबैले बोल्न पाएका छौं भन्नुहुने क.प्रचण्ड – हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’ लिङ्देनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउनुहोस् …..जो सम्भव छ । अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्….जो तपाईं स्वयंलाई सबैभन्दा राम्रो थाहा छ !’