देशले खोजेको अर्थमन्त्री
सन् २०१६ मा डा. रामशरण महत नेपालका उत्कृष्ट अर्थमन्त्री घोषित भए । बेलायतको ‘द बैंकर म्यागेजिन’ले पहिराएको उक्त पगरी डा. महतका लागि भने काउसो सावित भयो । लन्डनमा उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थापेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै काठमाडौंमा उनको खिल्ली उडाउन सुरु भइसकेको थियो । उनले समर्थन पाउने आशा गरिएका लोकतान्त्रिक विचारधाराका अर्थशास्त्री, पत्रकार र नागरिक समाजका अगुवा नै उनको खिल्ली उडाउने अभियानको अग्रपंक्तिमा थिए ।
सबैको प्रश्न सामान्य थियो- देशको अर्थतन्त्रले दुर्दशा भोगिरहँदा त्यो देशको अर्थमन्त्री कसरी उत्कृष्ट घोषित हुनसक्छ ? यो प्रश्नको जवाफ दिन सक्ने अवस्थामा डा. महत थिएनन् । जबकि, नेपालको अर्थतन्त्रलाई थप खराब बाटोमा फस्नबाट जोगाउनेमध्येका एक खम्बा थिए उनी ।
खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण, निजीकरण र नेपाली अर्थतन्त्रलाई नीतिगत रुपमा विश्वव्यापीकरण गराउनेमा डा. महतको योगदान उच्च छ । उनको योगदान कसैले चाहेर पनि भुल्न सक्दैन । यसका बाबजुद प्रख्यात अर्थशास्त्रीको पहिचानसहित पटक-पटक अर्थमन्त्री बन्दा पनि उनले देशको अर्थतन्त्रमा आमूल सुधार ल्याउन नसक्दा र भौतिक विकासको गति डेग चल्न नसक्दा उनी आमनागरिकबाट आलोचित हुनुपरिरहेको छ ।
अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरिरहेको सरकारमा नेपाली कांग्रेस प्रवेशको गृहकार्य चलिरहेको छ । कांग्रेस सरकारमा जाँदा अर्थ मन्त्रालयसहिका महत्वपूर्ण मन्त्रालय लिने चर्चा छ । यसबीचमा अर्थमन्त्री को बन्ने ? भन्ने बहस चलिरहँदा पूर्वअर्थमन्त्री एवं अर्थशास्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रीमा अर्थशास्त्री नै नियुक्त हुनुपर्ने धारणा अगाडि सारेका छन् ।
अर्थशास्त्रीबाहेक अन्य पृष्ठभूमिका व्यक्ति अर्थमन्त्री भएमा अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको देशको अर्थतन्त्र सम्हाल्न सक्ने छैनन् भन्ने उनको भनाइप्रति आममानिसले खास वास्ता गरेका छैनन् । कारण- केपी ओली नेतृत्वको झन्डै दुई तिहाइ बहुमतको समर्थनप्राप्त सरकारको अर्थमन्त्रीका रुपमा डा. खतिवडाको पर्फर्मेन्सलाई आममानिस सम्झिन चाहँदैनन् ।
उनले राजनीतिज्ञ, निजी क्षेत्र, विपक्षी, बैंकर र विशेष गरी मिडियालाई ‘ढंग नभएका जमात’ भनेर उछितो काढिरहे । तर, आज अर्थमन्त्रीको कुर्सीबाट बाहिरिएको अवस्थामा आफ्नो मूल्यांकन आफैं गर्दासमेत उनी स्वयं सन्तुष्ट हुने ठाउँ भटिरहेका छैनन् ।
इतिहासमै काम गर्ने सबैभन्दा उपयुक्त अवसर पाउँदा उनले नेपाली अर्थतन्त्रलाई दीर्घकालीन रुपमा सकारात्मक बाटोमा हिँडाउन निर्णय लिए त ? भनेर प्रश्न गरियो भने उनले खुद्रामसिना तर्क दिन सक्लान् । तर, उनका कारण अर्थतन्त्रमा ठडिएका एउटै पिल्लर देखाउन सक्ने छैनन् ।
उनी अर्थमन्त्री हुँदा नेपाली समाजले पोलिसी डिपार्चर गर्ने आशा गरेको थियो । तर, विडम्बना एउटा आशा गरिएको अर्थशास्त्री सधैँका लागि हरायो । अर्थात्, अब डा. खतिवडासँग कुनै आशा र विश्वास आम जनमानसमा छैन । त्यसैले अचेल उनका कुरा बिक्न छाडिसकेका छन् । एमाले पार्टीभित्रका आमकार्यकर्ताहरूको मूल्यांकनमा पनि डा. खतिवडाभन्दा तुलनात्मक रुपमा सुरेन्द्र पाण्डे र विष्णु पौडेलले अर्थमन्त्रीको रुपमा राम्रो अंक पाए ।
गठबन्धन दलहरुबाट नयाँ अर्थमन्त्री को हुनुपर्छ भन्ने बहस सुरु गर्ने हो भने कम्तीमा तीन दशकको इतिहासलाई केलाएर विश्लेषण गर्नुपर्छ । तब मात्रै सही निष्कर्षमा पुग्न सम्भव हुन्छ । तीन दशक अर्थात् सन् १९९० पछिको समय । यो समय विश्वमा नेपालजस्तै अर्थतन्त्र भएका देशले आर्थिक विकासमा फड्को मारेको अवधि हो । र, हाम्रा छिमेकी राष्ट्रहरू चीन र भारतले आफूलाई विश्व अर्थतन्त्रमा पहिलो लहरका शक्ति राष्ट्रमा स्थापित गरेको समय पनि ।
गगन थापा नेपाली समाजले आशा र विश्वास गरिएका नेता हुन् । उनीसँग ‘बोल्ड डिसिजन’ गर्ने हिम्मत छ । र, उनका सहयोगीका रुपमा समाजले मानेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेहरु पनि छन् । यस अर्थमा अन्यको तुलनामा गगन थापा अर्थमन्त्री बने भने उनले समाजमा आशा जगाउन सक्छन् भन्ने धेरैको अपेक्षा छ ।
गएको ३० वर्ष विकासमा ‘तरक्की’ गरेर देखाउनका लागि सबैभन्दा अनुकूल समय पनि थियो । किनभने, विकासशील देशले सँगसँगै विकास गरेर जान सक्ने वातावरण यही समयमा प्राप्त थियो । एसियन टाइगर वा अफ्रिकी देशहरू र भियतनामजस्ता वामपन्थी पृष्ठभूमिका देशले आर्थिक सुधारमा फड्को मारेर नयाँ इतिहास रचेको समय पनि यही हो ।
नेपालमा के भयो त ?
यस अवधिमा नेपालमा प्रमुख रुपमा दुईवटा कुरा भए । सन् १९९० को राजनीतिक परिवर्तनपछि नेपालले खुला बजार अर्थतन्त्रको नीति लियो । जसले अर्थतन्त्र त मौलायो । तर, सन् १९९० मा लिइएको खुला बजार अर्थतन्त्रको नीतिलाई नेपालमा सही ढंगले कार्यान्वयनमा ल्याउन सकिएन । खुला बजार अर्थतन्त्रको भव्य सुन्दर आवरणभित्र राजनीतिक दलपिच्छेका अनुदार व्यवहार कार्यान्वयनमा आए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका एवं पूर्वअर्थमन्त्रीहरू डा. रामशरण महत र महेश आचार्य यस अर्थमा नेपाली आधुनिक अर्थतन्त्रका प्रणेता हुन् । उनीहरूले नीतिगत रूपमा कुनै द्विविधा नराखी नेपाललाई खुला बजार अर्थतन्त्रमा प्रवेश गराए । तर, त्यसपछि धैरै पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका डा. महतले खुला बजार अर्थतन्त्रको मर्मअनुसार नेपाली अर्थतन्त्रलाई फैलाउने वातावरण बनाउनुको सट्टा धेरै हदसम्म अर्थतन्त्र नबुझेका आफ्ना प्रधानमन्त्रीका ‘निजी स्वार्थ’लाई पक्षपोषण गर्दा र केही हदसम्म आफ्ना निजी स्वार्थको वरिपरि घुमेर खुला बजार अर्थतन्त्रलाई हुर्काउने, बढाउने, फुल्ने र फलाउने अभिभावकीय जिम्मेवारी पूरा गर्न नसक्दाको परिणामस्वरुप हाम्रो अर्थतन्त्र सिकुटिँदै गएको हो । त्यसको असर आज ३० वर्षपछि नेपाली अर्थतन्त्रले भोगिरहेको छ ।
धनीहरु झन् धनी बन्दै गए भने गरिबहरु जहाँको त्यहीँ रहिररहे । बरु उल्टै ती गरिबहरुलाई सरकारले ऋणको भारी बोकाइरह्यो । पछिल्लो ७ वर्षमा अर्थतन्त्रको आकार दोब्बर हुँदा नेपालको सार्वजनिक ऋण ४ गुणाले बढेको छ । ऋण काढेर घ्यू खाने प्रवृत्ति मौलाउँदा यस्तो भएको हो । राजनीतिक नेता तथा कार्यकर्ताको व्यवस्थापन गर्न सरकारमा बस्नेहरुले अनावश्यक निकाय थपेर आफ्ना कार्यकर्ताको भर्ती गरिरहे । अनि ती कार्यकर्ता पाल्न राजस्व उठाउनुपर्ने भएकाले उद्योगभन्दा व्यापार फस्टाउने नीति लिए । व्यापार फस्टाउँदा राजस्व पनि उठेकै थियो । सरकारले वर्षैपिच्छे चालू खर्च बढाउन पाएकै थियो ।
तर, अहिले अवस्था फेरिएको छ । सरकारले संकलन गर्ने राजस्वले चालू खर्च पनि नधान्ने अवस्था आएको छ । व्यापार घाटा बजेटभन्दा ठूलो भइसकेको छ । यस्तो अवस्थामा अर्थमन्त्रीले सार्वजनिक खर्च कटौती गर्न र नीतिगत सुधार गरी आन्तरिक उत्पादन बढाउन पनि ढिला भइसकेको छ ।
सन् १९९० को राजनीतिक परिवर्तनपछि अर्थतन्त्रमा गरिएको पहिलो चरणको सुधारपछि आज ३० वर्षसम्म पनि जस्ताको तस्तै राखिएको छ, जुन नेपाली अर्थतन्त्रको दुर्भाग्य हो ।
अर्थमन्त्री बन्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को मामिला चौधरीले धेरै झेल्नुपर्ने हुनसक्छ । त्यसका लागि उनले कम्तीमा अर्थमन्त्रीको कुर्सीमा बस्नुअघि आफूलाई उद्यम व्यवसायबाट अगल गरेको सार्वजनिक घोषणा गर्न आवश्यक छ ।
आज एउटा बुलन्द नेपाली युवाले वर्ल्डवाइड बिजनेसको नयाँ आइडियामा काम गर्न चाह्यो भने पनि उसलाई नेपालको चार किल्लाभित्र बाँधिनुपर्छ । उसको आइडिया युरोप, अमेरिका, एसिया वा अफ्रिकामा पुगेर फैलाउन पाउँदैन । उसले यस्तो गर्यो भने नेपाली कानुनअनुसार दण्डनीय हुन्छ । यही कुरा इथियोपियामा जन्मिएको युवाले गर्न चाह्यो भने उसले न्युयोर्क, लन्डन वा पेरिसमा कार्यालय खोल्न पाउँछ । र, विश्वव्यापी रुपमा व्यवसाय फैलाउन सक्छ । राजा महेन्द्रले बनाइदिएको त्यसबेलाको कानुनको अधिनमा रहेर नेपाली नागरिकता प्राप्त नागरिकले फैलिन पाउने भनेको मेचीदेखि महाकालीसम्म मात्रै हो ।
हो, हाम्रो अर्थतन्त्र र आर्थिक विकासको सोचको सिमाना यति नै हो । यस अवधिमा डा. खतिवडालगायतका थुप्रै अर्थशास्त्री देशको अर्थमन्त्री बने । तर, उनीहरूले दोस्रो पुस्ताको सुधार किन गर्न सकेनन् ? उनीहरूले नचाहेर होइन, के गर्नुपर्छ भन्ने थाहा नपाएर केही गर्न नसकेका हुन् । उनीहरुको सोचको स्तरमै समस्या भएकाले आज देशले यो दुर्गति भोगिरहनुपरेको छ ।
त्यसैले अब पनि अर्थमन्त्रीको जिम्मेवारीमा कुनै कलेज पढाउँदै गर्दा राजनीतिक नेतासँगको सामीप्यले गर्भनर वा राष्ट्रिय योजना आयोगको सदस्य वा उपाध्यक्ष बनेको अर्थशास्त्रीलाई नै बनाउनुपर्छ भन्ने सोचको जम्माजम्मी क्षमताको आकार योभन्दा बढी हुन सक्दैन भन्ने इतिहासले प्रस्ट पार्छ ।
हामीलाई हिजो डा. खतिवडा, विष्णु पौडेल, ज्ञानेन्द्र कार्की, जनार्दन शर्मा वा वर्षमान पुनका उत्तराधिकारी नयाँ अर्थमन्त्री चाहिएको होइन, जसले अर्थ मन्त्रालयका कर्मचारीले तयार पारेको फाइलमा हस्ताक्षर गर्नु नै आफ्नो उपलब्धि ठानुन् । हामीलाई त यस्तो अर्थमन्त्री चाहिएको छ, जसले अर्थतन्त्रको संरचनागत अवस्थालाई फेरि एकपटक गहिरोसँग आत्मसाथ गरेर आर्थिक विकासको राजमार्ग कोर्न सकोस् ।
कर्मचारीको तलबभत्ता र पेन्सनको जोहो गर्ने, शक्ति केन्द्रलाई रिझाउन बजारबाट पैसा उठाएर पठाउने र पार्टीको कोष मजबुत बनाउने लक्ष्य लिएको अर्थमन्त्री देशलाई चाहिएको होइन ।
अहिले अर्थमन्त्री बन्ने सम्भावित व्यक्तिको सूचीमा लगभग त्यस्तै व्यक्तिको नाम छ, जसले अर्थ मन्त्रालयको परम्परालाई धान्न सक्छन् । केही नाम उत्साह बढाउने खालका पनि छन् । र, केही चुनौतीसँग जुधेर देशका लागि नतिजा निकाल्ने खालका पनि ।
पहिलो चरणमा अर्थमन्त्रीका लागि चर्चामा ल्याइएका नाम हुन्, डा. शेखर कोइराला र गगन थापा । राजनीतिक नेतृत्वको पृष्ठभूमि भएका यी नाम अर्थमन्त्रीका रुपमा आउँदा आममानिसले सामान्य रुपमा लिन्छन् । र, उनीहरूबाट केही राम्रो होला भनेर अपेक्षा पनि राख्छन् । तर, उनीहरूले अर्थतन्त्रको कायापलट गर्ने क्षमता राख्छन् भन्नेमा केही शंका भने अवश्य रहन्छन् । किनभने, उनीहरूले अर्थतन्त्रको व्यवस्थापन, आर्थिक विकास र परिवर्तनको पृष्ठभूमिमा काम गरेका छैनन् ।
डा. शेखर कोइरालाले अर्थमन्त्री बन्नुभन्दा पनि प्रधानमन्त्री बनेर योग्य अर्थमन्त्री छान्नु वा अहिले नै योग्य व्यक्तिलाई अर्थमन्त्री बनाउन हदैसम्मको पहल गर्नु उपयुक्त हुन्छ । यद्यपि, गगन थापा नेपाली समाजले आशा र विश्वास गरिएका नेता हुन् । उनीसँग ‘बोल्ड डिसिजन’ गर्ने हिम्मत छ । र, उनका सहयोगीका रुपमा समाजले मानेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेहरु पनि छन् । यस अर्थमा अन्यको तुलनामा गगन थापा अर्थमन्त्री बने भने उनले समाजमा आशा जगाउन सक्छन् भन्ने धेरैको अपेक्षा छ ।
आशाले आम मानिसको मनोबल बढाउँछ । मनोबल गिरेर सतहमै आएको यो अवस्थामा आम मानिसको मनोबल बढ्यो भने मात्रै पनि अर्थतन्त्र चलायमान हुन्छ । गगन थापासँग धेरै मानिसले त्यस्तो क्षमता देख्छन् । उनले राजनीतिक नेतृत्व र स्वास्थ्यमन्त्री हुँदा गरेको कामले पनि धेरैले उनीमाथि अपेक्षा राखेका छन् ।
आफ्ना कुरा प्रस्ट र दमदारसँग राख्न सक्ने खुवी पनि उनमा छ । आम मानिसलाई आफ्नो कुरामा कन्भिन्स गराउन समकालीन नेताहरुमा उनी अगाडि छन् । तसर्थ, यस्तो संकटको घडीमा रित्तो ढुकुटी सम्हालेर फजुल खर्च नियन्त्रण गरी स्वदेशी र विदेशी लगानी भित्र्याएर ढुकुटी भर्नुपर्ने अवस्थामा कांग्रेसले उनको प्रयोग गर्न सक्छ । जसले देश र स्वयं कांग्रेसलाई लाभ पुग्न सक्छ ।
तर, थापाले आफू मन्त्री बन्न लागेको हल्लामा सत्यता नभएको र आफ्नो लक्ष्य प्रधानमन्त्री बन्नु रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
अहिलेको संकटको अवस्था अर्थमन्त्रीको कुर्सीमा बसेर आम नागरिकको तीव्र अपेक्षालाई आशामा परिणत गर्न सकिएन भने प्रधानमन्त्री बन्ने सपनासमेत तुहिने डर उनमा रहेको कतिपयको विश्लेषण छ । अर्थमन्त्री बन्दिन भन्ने गगनको अभिव्यक्ति त्यही डरको प्रतिबिम्ब हुनसक्छ । वा, उपप्रधानमन्त्रीसहितको अर्थमन्त्री पाएमात्रै सरकारमा जान्छु भन्ने पोलिटिकल बार्गेनिङ पनि हुनसक्छ । तर, मुलुक संकटको डिलमा पुगेको अवस्थामा आशा गरिएको नेताले हिम्मत गरेर चुनौतीसँग जुध्नुपर्छ ।
अहिलेको अवस्थामा गगनले अर्थमन्त्री बनेर अर्थतन्त्र सुधार गर्न सके भने उनलाई भावी दिनमा प्रधानमन्त्री बन्न कसैले पनि रोक्न सक्दैन । प्रधानमन्त्री बन्ने हुटहुटी बोकेको एउटा राजनीतिज्ञले अर्थमन्त्री बन्नुलाई नै आफ्नो अन्तिम उपलब्धि सम्झेर कमाउ धन्धाबाट अलग्गै रहन्छ भन्ने मान्यताका आधारमा पनि यो घडीमा अर्थमन्त्रीका लागि गगन उपयुक्त क्यान्डिडेट हुन सक्छन् ।
अर्थमन्त्रीका लागि चर्चामा रहेको अर्को नाम हो, डा. स्वर्णिम वाग्ले । स्वर्णिम पक्कै पनि युवा अर्थशास्त्री हुन् । नेपाली समाजले उनीप्रति ठूलो आशा गरेको कुरा सामाजिक सञ्जालमा उनीप्रति व्यक्त गरिएका सकारात्मक टिप्पणीलाई हेरेर पनि सहजै विश्लेषण गर्न सकिन्छ । उनीसँग देश-विदेशका संस्थामा काम गरेको अनुभव छ ।
तुलनात्मक रुपमा अन्य नेताभन्दा अर्थमन्त्रीका लागि उनी पक्कै पनि योग्य हुन् । तर, विडम्बना पार्टीले उनलाई सांसदको टिकट दिन उपयुक्त सम्झिएन । उनी अहिले सांसद् छैनन् । पहिलो कुरा कांग्रेस सभापति शेरबहादुर देउवा वाग्लेलाई कुनै पनि महत्वपूर्ण जिम्मेवारी दिन चाहँदैनन् । दोस्रो उनलाई अर्थमन्त्री बनाइहाले पनि उनी ६ महिने मन्त्री मात्रै हुनेछन् । ६ महिने मन्त्रीले कन्फिडेन्स बढाउनबाहेक केही पनि गर्नसक्ने अवस्था रहँदैन । बरु उनले गगनलाई अर्थमन्त्री बनाउन लबिङ गरेर उनकै टिममा बसेर काम गरी अर्थतन्त्रलाई बचाउन सहयोगीको भूमिका खेल्नु उपयुक्त हुन्छ ।
अर्को महत्वपूर्ण कुरा के छ भने डा. वाग्लेले नेपालको अर्थमन्त्रीको जिम्मेवारी पाइहाले भने पनि सफल अर्थमन्त्रीका रुपमा इतिहास लेख्न निकै कठिन छ । पक्कै पनि डा. वाग्लेसँग अर्थशास्त्रको उत्कृष्ट ज्ञान छ । नेपालजस्ता अल्पविकसित वा विकासशील देशमा उक्लिन प्रयास गर्दै गरेका देशहरूको अर्थतन्त्रको समस्याका बारेमा उनलाई निकै राम्रो सैद्धान्तिक ज्ञान छ । तर, आज व्यवसाय चौपट भएका कारण सडकमा ओर्लिएर दुर्गा प्रसाईं जस्ता ‘अराजक’ व्यक्तिको पछि-पछि नारा लगाउँदै हिँड्न बाध्य भएका समुदायको मर्म भने स्वर्णिमले नबुझ्ने पो हुन् कि भनेर शंका गर्ने ठाउँ छ ।
उनले अहिले सम्भव भएसम्म अर्थतन्त्रको प्रणालीभित्र रहेर काम गरे भने भोलि देशले सक्षम अर्थमन्त्री पाउनेमा शंका गर्नु पर्दैन । तर, ‘तातै खाउँ जल्दी मरौं’ भनेजस्तै पाएसम्म अर्थमन्त्री खाइहाल्ने योजना बनाएका हुन् भने समाजले आशा गरेको एउटा अर्थशास्त्री सधैँका लागि दृष्यबाट हराउन सक्छ । जसरी ठूलो आशा गरिएका अर्थशास्त्री डा. युवराज खतिवडा असफल भए र हराए ।
अर्थमन्त्रीको दौडमा अग्रपंक्तिमा रहेको ठानिएका दुईजना नेता हुन्, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की ।
उनीहरूको नाम भावी अर्थमन्त्रीका रुपमा चर्चामा आएपछि समाजले गरेको प्रतिक्रियाको सामान्य सर्वेक्षण गर्ने हो भने प्रस्ट हुन्छ, यी दुई अनुहारमा आम नागरिकको विश्वास र अपेक्षा छैन । र, भोलि उनीहरुमध्ये एक अर्थमन्त्री भए भने नेपाली अर्थतन्त्रले कुनै सकारात्मक प्रतिक्रिया जनाउने छैन ।
उनीहरूलाई समाजले ‘दाइ शेरबहादुर देउवा र भाउजू आरजु राणा’का प्रतिनिधिका रुपमा मात्रै स्वीकार गर्नेछ । पूर्वअर्थमन्त्रीका रुपमा ज्ञानेन्द्र कार्कीले देउवाको इमानदार प्रतिनिधि भएर परम्परा धानेका थिए । डा. महतलाई पार्टी पंक्तिले नै सबैभन्दा उपेक्षा गर्नेछ किनभने पार्टी राजनीतिमा देउवा निवासको गेटभित्र पसिसकेपछि पनि ‘दाइ’को मान्छे कि ‘भाउजू’को भन्नेमा ‘भाउजू’कै मान्छेका रुपमा उनले परिचय बनाएका छन् । उनी अर्थमन्त्री हुनु भनेको अन्ततः अर्थ मन्त्रालयको डाडुपन्यु ‘भाउजू’लाई नै सुम्पिनु हो भन्नेमा कांग्रेसीजन स्पष्ट छन् ।
कांग्रेसभित्रको भाउजू आतंक समग्र अर्थतन्त्रमा सर्यो भने अवस्था झनै खराब हुने डर राजनीतिक चेत भएकाहरुमा देखिएको छ । विगतमा मन्त्री हुँदा कुनै ट्र्याक रेकर्ड बनाउन नसकेको, पार्टी राजनीतिभित्र कार्यकर्ताबाटै उपेक्षामा परेको र राजनीतिको जम्माजम्मी जिम्मेवारी ‘दाइ-भाउजू’को सेवा गर्नु हो भन्नेमा सीमित गरेका कारण डा. महतको सामाजिक छवि अत्यन्तै कमजोर मानिन्छ । यही छविका कारण उनले गत महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य पदको निर्वाचन हारेका थिए र चुनाव जित्न सक्ने आधार कमजोर रहेकाले गत निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा नगई समानुपातिक तर्फबाट सांसद् बन्नुपरेको थियो ।
अर्थमन्त्रीका लागि चर्चामा रहेको अर्को नाम हो, उदयशमशेर राणा । अर्थशास्त्रका विद्यार्थीसमेत रहेका राणाले यसअघि अर्थराज्यमन्त्री भएर काम गरिसकेका छन् । राणाको शालीनता र इन्टिग्रिटी निकै उच्च छ । तर, अहिलेको अर्थमन्त्रीले धेरै अप्रिय र बोल्ड डिसिजन गर्नुपर्ने भएकाले उनको राजनीतिक उचाइ अलि नपुग्ने हो कि भन्ने शंकाको घेरमा छन् । कतिपय सन्दर्भमा अवसरले मान्छेलाई निखार्छ भन्ने मान्यताका आधारमा उदय पनि अर्थमन्त्रीका लागि उपयुक्त क्यान्डिडेट हुन सक्छन् ।
अर्थमन्त्रीका रुपमा चर्चामा रहेको अर्को नाम हो विनोद चौधरी । चौधरीको पहिचान राजनीतिज्ञको तुलनामा उद्यमी-व्यवसायीका रुपमा बढी छ । त्यसैले उनको नाम आउनासाथ मानिस व्यवसायीलाई अर्थमन्त्री बनाउनुहुन्छ र ? भन्ने टिप्पणी गरिहाल्छन् । जसलाई अस्वाभविक लिनु हुँदैन ।
अर्थमन्त्री बन्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को मामिला चौधरीले धेरै झेल्नुपर्ने हुनसक्छ । त्यसका लागि उनले कम्तीमा अर्थमन्त्रीको कुर्सीमा बस्नुअघि आफूलाई उद्यम व्यवसायबाट अगल गरेको सार्वजनिक घोषणा गर्न आवश्यक छ । अर्थमन्त्री भएर निजी स्वार्थ पूरा गर्न लागे भने संसद, पार्टी, अख्तियार र अदालतले कारबाही गर्न सक्छ भने नागरिक समाज र मिडियाले त्यसलाई जनतासामु ल्याउन सक्छन् । आफू व्यवसायबाट अलग भएको घोषणा गरे र अर्थमन्त्री बन्ने अवसर पाए भने आफ्नो व्यवसाय नहेरी देशको हितमा काम गर्दा अहिलेको संकट पार लगाउने व्यक्ति बन्न सक्छन् ।
आजको विश्वमा अर्थमन्त्रीको भूमिका सरकारको सफलता र असफलताको कारक मानिन्छ । देशको वास्तविकता बुझेको व्यक्ति अर्थमन्त्री बन्यो भने उसले समग्र देशमा नै सकारात्मक ऊर्जा भर्न सक्छ र त्यो ऊर्जालाई आर्थिक विकासमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित विषय हो । चौधरीसँग नेपाली अर्थतन्त्रका आयामहरुको बारेमा व्यावहारिक ज्ञान छ । निराशाले भरिएको यो समयमा यही देशमा आफूलाई प्रमाणित गरेको व्यक्तिलाई अर्थमन्त्री बनाउने हो भने सबैभन्दा पहिला मानिसको मनोवल बढ्नेछ । र, उनीहरु काममा जुट्नेछन् ।
नेपाली अर्थतन्त्रलाई अहिले चाहिएको अत्यावश्यक कुरा भनेको आन्तरिक लगानीको प्रवर्धन र वैदेशिक लगानीलाई आकर्षण गर्नु हो । आन्तरिक लगानीकर्ता अहिले काम छाडेर सडकमा देखिन थालेका छन् । चाहे बैंकको चर्को ब्याजदरका कारण होस्, चाहे बजारको सुस्तता । चाहे मनी सर्कुलेसनको अभावको कारण होस् वा भविष्यमा पनि काम गर्ने वातावरण सुधार हुने छैन भन्ने निराशा ।
तर, चौधरीलाई अर्थमन्त्रीको जिम्मेवारी दिँदा पार्टी र सरकार प्रमुखले एउटै कुरा भन्न सक्नुपर्छ- तिमीले देशको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सक्यौ भने अर्थमन्त्रीका रुपमा निरन्तरता पाउनेछौँ अन्यथा जीवनभर मन्त्री बनौंला भन्ने नसोचे हुन्छ ।
राजनीतिक नेतृत्वले अलि उदार र फरक भएर नसोच्ने हो भने कुनै अर्थमन्त्री आउँछ र मन्त्रालयमा फोटो झुन्ड्याएर जान्छ । जसको परिणाम जनताको जीवनस्तर झन्-झन् जर्जर बन्दै जान्छ । अनि ती भोका पेटहरुको नाम भजाएर आफ्नो दुनो सोझ्याउन राजनीति गर्नेहरुको व्यवसाय फस्टाउँछ ।
चौधरीका लागि दिइने यही चुनौती नै देशका लागि अवसर सावित बन्न सक्छ । उनको विश्वव्यापी नेटवर्क छ । र, विश्वका डलर अर्बपतिको सम्मेलनका उनी नियमित अतिथि हुन् । उनले विश्वका अर्बपति उपस्थित गराएर नेपालमा लगानी सम्मेलन गरी लगानी भित्र्याउन सके भने समग्र युवापंक्तिका लागि त्यो ठूलो उत्साहको समय हुनेछ । किनभने नेपाली अर्थतन्त्रले भोगेका अधिकतम समस्याको समाधान नेपालमा बृहत् लगानी आउन सक्यो भने मात्रै हुनेछन् ।
सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको समस्या होस् वा प्रत्येक दिन २१ सय जना युवा वैदेशिक रोजगारीका लागि बिदेसिन बाध्य हुनुको अवस्था । बजार शिथिल बनेको होस् वा पुँजी निष्क्रिय बनेको अवस्था । बृहत् लगानीको वातावरणले यी समस्यामाथि स्वाभाविक रुपमा समाधान दिँदै जान्छ । चौधरीलाई अर्थमन्त्रीको जिम्मेवारी दिँदै गर्दा उनले गर्नुपर्ने कामको ‘टिओआर’ पनि हातमा थमाइदिन सक्ने हो भने नेपाली अर्थतन्त्रमा नयाँ माहोल खडा हुनसक्छ ।
चौधरीको विश्वव्यापी राजनीतिक नेटवर्क समकालीन नेपाली नेताको तुलनामा राम्रो मानिन्छ । र, दाताहरूसँगको उनको सम्बन्ध पनि राम्रो छ । चौधरीलाई प्रयोग गरेर सरकारले उनको यो सम्बन्धलाई देशको हितमा प्रयोग गर्न सक्यो भने हाम्रा यावत समस्या समाधान उन्मुख हुन सक्छन् ।
राजनीतिक नेतृत्वले अलि उदार र फरक भएर नसोच्ने हो भने कुनै अर्थमन्त्री आउँछ र मन्त्रालयमा फोटो झुन्ड्याएर जान्छ । परिणामत: जनताको जीवनस्तर झन्-झन् जर्जर बन्दै जान्छ । अनि ती भोका पेटहरुको नाम भजाएर आफ्नो दुनो सोझ्याउन राजनीति गर्नेहरुको व्यवसाय फस्टाउँछ ।