संकटग्रस्त अर्थतन्त्र उकास्न कांग्रेसले कसलाई बनाउँदैछ अर्थमन्त्री ?



काठमाडौं । अर्थतन्त्र संकटको अवस्थामा छ । तर, बिडम्बना अहिले अर्थ मन्त्रालय खाली छ । राष्ट्रपतिको चुनावको विषयलाई लिएर नयाँ राजनीतिक समीकरण बनेपछि नेकपा एमाले सरकारबाट बाहिरियो ।

अब सरकारमा कांग्रेस जाँदैछ । जसरी एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री भएर पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी भएका थिए । त्यसरी नै अब कांग्रेस सरकारमा जाँदैछ ।

कांग्रेसका भागमा अर्थसहित विभिन्न महत्वपूर्ण मन्त्रालय परेका छन् । चैत पहिलो साता उपराष्ट्रिपतिको निर्वाचन हुँदैछ । निर्वाचन सकिएलगत्तै सरकार विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमै बताइसकेका छन् ।

अर्थतन्त्र अत्यन्तै खराब अवस्थामा पुगेको छ । सबैखाले व्यापार व्यवसायमा चरम सुस्तता आएको छ । उद्योगी व्यवसायी एवं लगानीकर्ता डिप्रेसनमा पुगिसकेका छन् । त्यतिमात्रै होइन, लामो समयदेखि व्यवसायी बैंकको चर्को ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् । अर्थतन्त्रमा मन्दी आउँदा सरकारको राजस्व पनि प्रभावित भएको छ ।

लक्ष्यभन्दा निकै कम मात्र राजस्व संकलन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, माघमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै १२ खर्ब ४० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुने संशोधित अनुमान गरेको थियो ।

चैत १ गतेसम्ममा सरकारले जम्मा ६ खर्ब २४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने ७ खर्ब ८२ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक मन्दीले सरकारको आम्दानी र खर्चबीच ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढीको खाडल परेको छ । डरलाग्दो कुरा त के छ भने आर्थिक वर्षको ८ महिना बित्दा सरकारले संकलन गरेको कुल राजस्वले चालू खर्च मात्रै धानेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत १ सम्ममा सरकारको चालू खर्च ६ खर्ब १० अर्ब रुपैयाँ छ । चालू खर्चभन्दा १४ अर्ब रुपैयाँ बढी मात्रै राजस्व संकलन भएको छ ।

सरकारले संकलन गरेको राजस्व र अन्य प्राप्तिको रकमबाट चालू खर्च व्यवस्थापन समेत कठिन बन्दै गएको छ । तलबभत्ता, पेन्सन र सामाजिक सुरक्षामा मात्रै ६ खर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । घट्दो राजस्वले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न पनि कठिन हुने देखिन्छ ।

यस्तो कठिन समयमा पनि देश अर्थमन्त्रीविहीन हुनु भनेको राजनीतिक नेतृत्वको गैरजिम्मेवारीको पराकाष्टा नै हो । यस्तो अवस्थामा पनि राजनीतिक दल र तिनका नेता कसलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउने, सभामुख बनाउने, मन्त्री बनाउने भन्ने ध्याउन्नमा मात्रै छन् ।

देशले यतिबेला अर्थतन्त्र बुझेको र दिनरात खटेर काम गर्नसक्ने अर्थमन्त्री खोजेको छ । तर, नेताहरु संवेदनशील देखिँदैनन् । अहिले अर्थमन्त्री छान्दा हाम्रो भन्दा पनि राम्रो मान्छे नछान्ने हो भने यो संकटको समाधान हुनेवाला छैन । त्यसैले राजनीतिक नेतृत्व अत्यन्तै गम्भीर र संवेदनशील हुने बेला छ ।

कांग्रेसको भागमा अर्थमन्त्री पर्ने भएपछि कांग्रेसभित्र अर्थमन्त्र बन्न अहिले ८ जनाले आकांक्षा देखाएका छन् । पार्टी सभापतिको चुनाव हारेका शेखर कोइरालादेखि महामन्त्री गगन थापा उपप्रधानसहित अर्थमन्त्री पाए सरकारमा जान लबिङ गरिरहेका छन् ।

त्यस्तै, देउवा गुटका प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का र उदयशमशेर राणा पनि अर्थमन्त्री बन्ने लबिङमा छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद् एवं उद्योगी विनोद चौधरी पनि अर्थमन्त्री बन्ने दौडमा छन् । अवसर पाए अर्थमन्त्री बनेर संकटग्रस्त अर्थतन्त्र सुधार्ने योजना बुन्दै लबिङ गरिरहेका छन् ।

संस्थापन इतरका शेखर र गगन उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाए सरकारमा जाने तयारीका साथ आवश्यक गृहकार्य र लबिङ गरिरहेका छन् । सभापति शेरबहादुर देउवा भने पत्नी आरजुको चाहनाअनुसार प्रकाशशरण वा ज्ञानेन्द्र कार्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिन चाहन्छन् । तर, यी दुई नाममा प्रधानमन्त्री प्रचण्ड सकरात्मक छैनन् ।

‘प्रकाशजी र ज्ञानेन्द्रजीको पब्लिक इमेज राम्रो छैन, त्यसैले यस्तो संकटका बेलामा उनीहरुलाई अर्थमन्त्री बनाउँदा सरकारले विश्वास गुमाउने सम्भावित समस्याबारे प्रधानमन्त्रीज्यूले कांग्रेस सभापति देउवालाई भनिसक्नुभएको छ,’ माओवादीका एक मन्त्रीले भने, ‘त्यसपछि नारायण खड्का र उदयशमशेर राणाको पनि नाम आएको छ, यसमा प्रधानमन्त्रीले कुनै प्रतिक्रिया दिनुभएको छैन, यो भनेको एक प्रकारको मौन समर्थन हुनसक्छ ।’

तर, प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट शेखर कोइराला वा गगन थापा अर्थमन्त्री भए आफूलाई काम गर्न बढी सजिलो हुन्छ भन्ने निकटस्थहरुसँग बताउने गरेका छन् । गगनसँग यसअघि एउटै मन्त्रिपरिषदमा काम गरेको अनुभवका आधारमा पार्टीले उनलाई पठाइदियो भने सजिलो हुने प्रचण्डको राय छ । प्रचण्डको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘जसलाई पठाए पनि हुन्छ, प्रकाशशरण र ज्ञानेन्द्र कार्कीचाहिँ नपठाइदिनुस् ।’

गगन अर्थमन्त्री भएर आए उनको पब्लिक इमेज राम्रो भएको र आम सर्वसाधारणलाई कन्भिन्स गर्नसक्ने राजनीतिक क्षमता उनमा रहेकाले त्यसको फाइदा आफू नेतृत्वको सरकारले भरपुर उठाउन सक्ने प्रचण्डको विश्लेषण छ । ‘महामन्त्री थापाले आर्थिक विषयमा बढी बोल्ने गरेका छन्, त्यसको तयारी वा लबिङ भनेको उपप्रधानसहितको अर्थमन्त्री नै हो,’ स्रोतले भन्यो ।

तर, बिडम्बना देउवापत्नी आरजु आफ्नो ‘एस म्यान’लाई अर्थमन्त्री बनाएर व्यक्तिगत लाभ लिन उद्यत रहेकाले शेरबहादुरले ठोस निर्णय लिन सकिरहेका छैनन् । ‘सामान्यत: शेरबहादुर दाइले भाउजूले जे भन्नुहुन्छ त्यही मान्नुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्यहरु नै भन्छन्, ‘प्रकाशशरण र ज्ञानेन्द्रको विकल्पमा नारायण खड्का र उदयशमशेर राणाको नाम पनि चर्चामा छ । निर्णय के हुन्छ भन्न सकिँदैन ।’

प्रकाशशरण र ज्ञानेन्द्रलाई शेखर-गगन समूहले पनि पठाउन नहुने अडान राख्दै आएको छ । यो मौकामा खड्का र राणाको भाग्य चम्किन सक्ने कांग्रेसकै नेताहरुको विश्लेषण छ । ‘भाउजूले गगन, शेखर, स्वर्णिमहरुलाई पठाए आफ्नो आम्दानी ठप्प हुने देखेर विकल्पमा खड्का वा राणाको नाम दिइरहनुभएको छ,’ स्रोतले भन्यो, ‘यसमा शेखर-गगन समूह पनि सहमत हुनसक्ने सम्भावना बलियो छ ।’

व्यवसायी विनोद चौधरीले पनि प्रधानमन्त्री प्रचण्ड, पार्टी सभापति देउवा, शेखर-गगन समूह र अन्य नेताहरुसँग अर्थमन्त्री बन्न लबिङ गरिरहेका छन् । आफूसँग अहिलेको संकट टार्ने प्रस्ट खाका भएको भन्दै उनी दौडधूप गरिरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग निकै राम्रो सम्बन्ध रहेकाले प्रधानमन्त्री प्रचण्ड चौधरीसँग पनि निकै सकारात्मक छन् ।

चौधरी अर्थमन्त्री भए स्वार्थको द्वन्द्वको विषयलाई लिएर विरोध हुन्छ कि भन्ने त्रासका बाबजुत पनि भारतीय प्रधानमन्त्री मोदी र भारतीय तथा अन्य देशका खर्बपतिहरुसँगको उनको सुमधुर सम्बन्धबाट फाइदा लिन सकिने प्रचण्डको विश्लेषण छ । त्यतिमात्रै होइन, व्यवसायीलाई अर्थमन्त्री बनाउँदा देशभित्रका व्यवसायीको पनि मन जित्न सकिने प्रचण्डको विश्वास छ ।

प्रचण्डले चौधरीको नाम आए कुनै समस्या छैन भनेर ग्रिन सिग्नल दिइसकेका छन् । प्रधानमन्त्रीको ग्रिन सिग्नल पाएका चौधरी पार्टीभित्रको तीब्र लबिङमा छन् । ‘चौधरीप्रति देउवा पनि सकरात्मक नै छन् । तर, उद्योगीलाई अर्थमन्त्री बनाउँदा पैसा खाएर मन्त्री बेच्यो भन्ने अफवाह फैलिएला कि भन्ने डरले देउवा भित्रभित्रै डराइरहेका छन्,’ देउवानिकट स्रोतले भन्यो ।

स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने तर्क पार्टीभित्रै र बाहिर पनि छ । तर, उनी सांसद छैनन् । ६ महिना वाग्लेलाई अर्थमन्त्री बनाउने हो भने बजारमा विश्वासको वातावरण सिर्जना हुने र दातृ निकायहरुसँगको सम्बन्ध अझ सुमधुर हुने आम बुझाइ भए पनि देउवाले वाग्लेलाई फिटिक्कै रुचाउँदैनन् । शेखर-गगन पनि उपप्रधानसहित अर्थमन्त्री पाए आफैं सरकारमा जाने लबिङ गरिरहेका बेला वाग्लेलाई अर्थमन्त्री बनाउन कसैले पनि लबिङ गरेका छैनन् ।

एकातिर स्वदेशी तथा लगानीकर्ताको विश्वास जित्न उद्योगी चौधरीलाई अर्थमन्त्री बनाउनुपर्ने धारणा छ भने अर्कातिर पोलिटिकल म्यानेजमेन्ट गर्नसक्ने सिनियर राजनीतिज्ञलाई अर्थमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्नुपर्ने तर्क छ ।

‘अब बन्ने अर्थमन्त्रीले निकै कठोर निर्णयहरु (जस्तैः सामाजिक सुरक्षा भत्ताहरु, सांसद विकास कोषको रकम र चालू खर्चमा व्यापक कटौती गर्नेजस्ता अलोकप्रिय निर्णय लिनुपर्ने भएकाले सिनियर राजनीतिज्ञ नै अर्थमन्त्री बन्नु उपयुक्त हुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘आफ्नो पार्टी र अन्य पार्टीका नेतालाई मात्रै होइन, आम सर्वसाधारणलाई पनि कन्भिन्स गर्नुपर्ने भएकाले सिनियर र बोल्ड डिसिजन लिनसक्ने पोल्टिसियन्सलाई अर्थमन्त्री बनाउँदा उपयुक्त हुन्छ । स्वर्णिमजी र विनोदजीहरुले उक्त अर्थमन्त्रीलाई पूर्णरुपमा सहयोग गर्नुभयो भने सुनमा सुगन्ध हुन्छ । तर, हेरौं पार्टीको मूल नेतृत्वले कस्तो निर्णय लिन्छ ?’

कांग्रेसको देउवा गुटमै पनि प्रकाशशरण र ज्ञानेन्द्रको नाममा ठूलो विरोध छ । यसको फाइदा अन्य आकांक्षीहरुले लिन सक्छन् । ‘विवाद बढ्यो भने देउवाजीले पूर्णबहादुर खड्कालाई पनि अर्थमन्त्री बनाइदिन सक्छन्, यस्तो भयो भने पनि आश्चर्य नमाने हुन्छ,’ ती पदाधिकारीले भने, ‘देउवालाई देश र अर्थतन्त्रको सुधार होइन, आफ्नो गुट र आफूलाई फाइदा भए पुग्छ ।’

उदयशमशेर राणाको नाममा कुनै पनि गुटमा खासै विवाद छैन । प्रधानमन्त्री पनि सकfरात्मक नै छन् । तर, उनी अलि जुनियर भएको नेताहरुको बुझाइ छ । आफ्नो भागमा अर्थ मन्त्रालय पर्दा पनि कांग्रेसले अझैसम्म नाम टुंगो लगाउन सकिरहेको छैन ।

देशले भने यतिबेला डा. रामशरण महतजस्तो बुझेको र बोल्ड डिसिजन गर्नसक्ने अर्थमन्त्री खोजिरहेको छ । राजनीतिक रुपमा दुर्बल महत स्वास्थ्यका कारण पनि निकै कमजोर बनिसकेका छन् ।

सबैले पत्याउने र विश्वास गर्ने अर्थमन्त्री खोज्न कांग्रेसलाई सकस परिरहेको छ । कांग्रेसले अहिले गर्ने निर्णयले देशको अर्थतन्त्र भावी दिनमा कता जाने भन्ने ठूलो अर्थ राख्ने निश्चित छ । तर, देउवाबाट देश हितमा निर्णय हुन्छ भनेर आम सर्वसाधारणले पत्याइरहेका भने छैनन् ।


क्लिकमान्डु